संसदीय गतिरोध अन्त्य, मधेश प्रदेशमा विनियोजन विधेयक पेश

जनकपुरधाम, २८ असार । लामो समयदेखि राजनीतिक विवादका कारण रोकिएको मधेश प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ अन्ततः प्रदेशसभामा प्रस्तुत भएको छ ।
प्रमुख प्रतिपक्षी दलहरूको अवरोध हटेसँगै अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको विनियोजन विधेयक सदनमा पेश गरेका हुन् ।
यसअघि प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले बजेटमाथि असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए ।
विपक्षी दलहरूको विरोधका कारण विनियोजन विधेयक प्रस्तुत गर्ने कार्य पटकपटक प्रभावित भएको थियो ।
बजेटसँग सम्बन्धित विवाद समाधानका लागि आइतबार विशेष संसदीय कार्यदल गठन गरिएपछि दलहरूबीच सहमतिको वातावरण बनेको थियो । त्यसपछि प्रदेशसभाको अवरोध हट्दै नियमित संसदीय प्रक्रिया अघि बढेको हो ।
अवरोध हटेपछि अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयक, २०८३ सदनमा प्रस्तुत गरेका छन् । विधेयकमाथिको छलफल आगामी बैठकमा अघि बढाइने जनाइएको छ ।
प्रदेशसभा बैठकले अर्को बैठक असार ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको छ ।
अब विनियोजन विधेयकमाथि दफावार छलफल तथा पारित गर्ने प्रक्रिया आगामी बैठकबाट अघि बढ्ने विश्वास गरिएको छ ।

