रतवाडामा नदी नियन्त्रण संरचनाको मर्मत तीव्र

महोत्तरी, २८ असार । महोत्तरीको रतवाडामा बाढीजन्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नदी नियन्त्रण संरचनाको मर्मत कार्य तीव्र पारिएको छ ।
नदी नियन्त्रण कार्यालयले वर्षायाममा हुन सक्ने कटान र डुबानको जोखिमलाई मध्यनजर गर्दै संरक्षण तथा मर्मतको काम अघि बढाएको हो ।
नदी नियन्त्रण कार्यालयका अनुसार नदी किनारमा क्षति पुगेका तटबन्ध तथा संरक्षण संरचनाको मर्मत, कमजोर स्थानको सुदृढीकरण तथा आवश्यक स्थानमा थप संरक्षणका काम भइरहेको छ ।

वर्षाको समयमा नदीको बहाव बढ्ने भएकाले सम्भावित जोखिमलाई कम गर्न मर्मत कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि नदी नियन्त्रणको कामलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ ।
प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिम देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।

स्थानीयवासीले समयमै नदी नियन्त्रण संरचनाको मर्मत थालिएकोमा सकारात्मक प्रतिक्रिया जनाउँदै दीर्घकालीन रूपमा प्रभावकारी संरक्षणका लागि गुणस्तरीय निर्माण र नियमित अनुगमन आवश्यक रहेको बताएका छन् ।
वर्षायाम सक्रिय भएसँगै महोत्तरीका नदी तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढ्ने भएकाले नदी नियन्त्रण कार्यालयले जोखिमयुक्त स्थानमा आवश्यक तयारीलाई थप तीव्र बनाएको जनाएको छ ।


