सप्तरी, २८ असार । सप्तरीको बोदेबरसाइन नगरपालिका–५ अन्तर्गत पर्ने राजविराज–बलान हुलाकी सडक खण्डमा स्थानीयले गरेको सडक अवरोध हटेको छ ।

कल्भर्टबाट पानी निकास अवरुद्ध हुँदा बस्ती र खेतीयोग्य जमिन डुबानमा परेपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरी विरोध जनाएका थिए ।

डुबानको समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक सुमन तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले जेसीबी प्रयोग गरी कल्भर्ट आसपास जमेको पानीको निकास खुलाएको थियो । त्यसपछि स्थानीयले सडक अवरोध हटाउँदै यातायात सञ्चालन गर्न सहमति जनाएका हुन् ।

पानी निकास खुलाउने कार्यमा बोदेबरसाइन नगरपालिका–४ का वडाध्यक्ष किरण कुमार साह, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नगर प्रहरीको संयुक्त सहजीकरण रहेको थियो ।

वडाध्यक्ष किरण कुमार साहका अनुसार कल्भर्टमा पानी निकास बन्द भएपछि स्थानीय बासिन्दाले निकै सास्ती व्यहोर्नुपरेको थियो । अहिले सडकको छेउबाट अस्थायी रूपमा पानी बग्ने व्यवस्था मिलाइएकाले तत्कालका लागि डुबानको समस्या नियन्त्रणमा आएको उनले बताए ।

स्थानीयका अनुसार हुलाकी सडकअन्तर्गत रहेको कल्भर्टमा पानी निकास अवरुद्ध हुँदा करिब १० घर डुबानमा परेका थिए भने ७ विघाभन्दा बढी खेतीयोग्य जमिनसमेत जलमग्न भएको थियो । डुबानका कारण स्थानीयको जनजीवन प्रभावित हुनुका साथै कृषकले ठूलो क्षति बेहोर्नुपरेको बताएका छन् ।

स्थानीयले दीर्घकालीन समाधानका लागि कल्भर्टको क्षमता विस्तार, नियमित सरसफाइ तथा प्रभावकारी पानी निकासको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । यद्यपि, हालका लागि पानीको निकास खुलाइएपछि राजविराज–बलान हुलाकी सडकमा यातायात सञ्चालन पुनः सहज बनेको छ ।