सर्लाही, २८ असार । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाहको प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको अवस्था गम्भीर रहेको छ ।

प्रारम्भिक उपचारपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो भने हाल कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ ।

चिकित्सकका अनुसार विवेकको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ । अस्पतालका निर्देशक डा. किरण नकर्मीले उनको अवस्था अझै चिन्ताजनक रहेको बताउँदै आवश्यक शल्यक्रियाको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रहरीका अनुसार विवेकले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घरबाट करिब दुई सय मिटर टाढा पुगेपछि उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए ।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । आत्मदाहको प्रयास गर्नुको कारण खुल्न बाँकी रहेको र परिवारका सदस्य तथा अन्य सम्बन्धित व्यक्तिसँग सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।

पछिल्लो समय आत्मदाहका घटनाहरू बढ्दै गएको देखिएको छ । केही दिनअघि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको थियो भने शनिबार काठमाडौंकै बुद्धनगर क्षेत्रमा पनि अर्को आत्मदाहको घटना सार्वजनिक भएको थियो ।