सप्तरी, २८ असार । नेपाल क्षयरोग निवारण संस्था सप्तरी शाखाले आगामी वर्ष क्षयरोग नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउन विद्यालय र समुदाय केन्द्रित जनचेतनामूलक अभियान सञ्चालन गर्ने भएको छ ।

संस्थाले रोगको समयमै पहिचान, परीक्षण र उपचारलाई प्राथमिकतामा राख्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

आइतबार सम्पन्न संस्थाको ४४औँ जिल्ला सभाले आगामी कार्ययोजना अन्तर्गत विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, जनचेतनामूलक र्‍याली, अन्तरक्रिया, खकार परीक्षण शिविर तथा क्षयरोगबारे सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

जिल्ला शाखाका अध्यक्ष वैद्यनाथ झाले क्षयरोग उन्मूलनका लागि स्वास्थ्य निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै समुदाय, विद्यालय र नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । उनले आगामी वर्ष विशेषगरी विद्यार्थी र स्थानीय समुदायलाई लक्षित गर्दै प्रभावकारी सचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा ह्यापील्यान्ड सेकेन्डरी स्कुलका प्रिन्सिपल शैलेन्द्रकुमार ठाकुरले लामो समयसम्म खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउनेजस्ता क्षयरोगका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरे । उनले परिवार, छिमेकी र समाजले पनि शंकास्पद बिरामीलाई परीक्षणका लागि प्रेरित गर्नुपर्ने धारणा राखे ।

संस्थाका केन्द्रीय सल्लाहकार विजयानन्द झाले सीमित आर्थिक स्रोतका बाबजुद शाखाले वर्षभरि जनचेतनामूलक, रोकथाम तथा उपचार सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले संस्थाको अक्षयकोषबाट प्राप्त ब्याज र सीमित सहयोगकै आधारमा गतिविधि सञ्चालन भइरहेकाले दीर्घकालीन कार्यक्रमका लागि थप आर्थिक स्रोतको आवश्यकता रहेको उल्लेख गरे ।

जिल्ला सभामा आर्थिक वर्ष २०८३/८४ का लागि चार लाख ९६ हजार ६६६ रुपैयाँको अनुमानित बजेट तथा आर्थिक वर्ष २०८२/८३ को चार लाख ९४ हजार ९५२ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। सभाले दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ ।

सांगठनिक प्रतिवेदनमा शाखाले वर्षभरि राष्ट्रिय तथा विश्व क्षयरोग दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रम, क्षेत्रीय गोष्ठी, विद्यालयस्तरीय प्रतियोगिता तथा ग्रामीण क्षेत्रमा सचेतना अभियान सञ्चालन गरेको उल्लेख गरिएको छ । ती कार्यक्रममार्फत समुदायमा क्षयरोगबारे जानकारी फैलाउने र परीक्षणप्रति नागरिकलाई प्रेरित गर्ने प्रयास गरिएको संस्थाको भनाइ छ ।

संस्थाले आर्थिक मन्दीका कारण बैंकको ब्याजदर घट्दै जाँदा नियमित कार्यक्रम सञ्चालनमा चुनौती थपिएको उल्लेख गर्दै भविष्यमा दिगो रूपमा अभियान सञ्चालन गर्न वैकल्पिक आयस्रोतको खोजी र सरोकारवाला निकायको सहयोग आवश्यक रहेको निष्कर्षसमेत निकालेको छ ।