कमला–ढल्केबर–पथलैया सडक विस्तार सुस्त

जनकपुरधाम, २८ असार । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कमला–ढल्केबर–पथलैया सडक विस्तार आयोजना अपेक्षित गतिमा अघि बढ्न नसक्दा निर्माण कार्य लक्ष्यभन्दा निकै पछाडि पुगेको छ ।
आयोजना सुरु भएको लामो समय बितिसक्दा पनि भौतिक प्रगति करिब २६ प्रतिशतमा मात्रै सीमित रहेको छ । यस अवधिसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने थियो ।
आयोजनाका अनुसार रुख कटान, विद्युत्का पोल, खानेपानीका पाइप, टेलिफोनका तारलगायतका पूर्वाधार समयमै स्थानान्तरण हुन नसक्दा निर्माण कार्य प्रभावित भएको हो ।
कमला–ढल्केबर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर रामटहल यादवले आवश्यक संरचना हटाउने काममा भएको ढिलाइले निर्माणको गति सुस्त बनेको जानकारी दिए ।
विश्व बैंकको ऋण सहयोगमा धनुषाको कमला पुलदेखि बाराको पथलैयासम्म चार लेन सडक विस्तार गर्ने योजना अघि बढाइएको हो । हाल भने कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्मको ७४ दशमलव ७५ किलोमिटर सडकखण्डमा मात्रै निर्माण कार्य भइरहेको छ ।
गत वर्ष पुसदेखि सुरु भएको यो आयोजना सन् २०२७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालको प्रगतिले निर्धारित समयमा काम सकिने सम्भावना कमजोर देखिएको छ ।
निर्माण कम्पनीका प्रतिनिधिहरूले पछिल्लो समय इन्धन, निर्माण सामग्री तथा सञ्चालन खर्च बढेकाले पनि कामलाई तीव्रता दिन कठिन भएको बताएका छन् । रसुवा कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि सुजित रिजालले लागत वृद्धि र अन्य प्राविधिक चुनौतीका कारण अपेक्षित गतिमा काम गर्न नसकिएको बताए ।
कमला पुलदेखि बागमती पुलसम्मको सडक, पुल तथा कलभर्ट निर्माणको जिम्मेवारी इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड (भारत), एसडब्ल्यु इजे (चीन) र रसुवा कन्स्ट्रक्सन कम्पनीको संयुक्त उपक्रमले पाएको छ । तर, निर्माणस्थलमा आवश्यक जनशक्ति परिचालन हुन नसकेको देखिएको छ । दैनिक आठ सयदेखि एक हजार मजदुर परिचालन हुनुपर्ने भए पनि अहिले सीमित संख्यामा मात्रै कामदार खटिएको र अधिकांश स्थानमा निर्माण कार्य ठप्पजस्तै रहेको स्थानीयको गुनासो छ ।
यता, सडक विस्तारमा विद्युतका पोल नसारिएको कारण ढिलाइ भएको भनाइप्रति नेपाल विद्युत् प्राधिकरणले असहमति जनाएको छ । लालबन्दी वितरण केन्द्रका प्रमुख सुरज ढुङ्गेलका अनुसार सर्लाहीको बाँके जंगल क्षेत्रमा एक सयभन्दा बढी विद्युत्का पोल हटाएर सडक निर्माणका लागि आवश्यक क्षेत्र खाली गरिसकिएको छ । घना बस्ती र बजार क्षेत्रमा भने गर्मीयाममा विद्युत् आपूर्ति अवरुद्ध गर्न नमिल्ने भएकाले त्यहाँका पोल दशैं तिहारपछि मात्रै स्थानान्तरण गरिने उनले बताए ।
स्थानीयवासीले राष्ट्रिय गौरवसँग जोडिएको यस सडक आयोजनामा देखिएको सुस्त गतिप्रति चिन्ता व्यक्त गर्दै निर्माण कम्पनी, सरोकारवाला निकाय र सरकारले समन्वय गरेर कामलाई तीव्रता दिनुपर्ने माग गरेका छन् । समयमै आयोजना सम्पन्न भए पूर्वपश्चिम यातायात थप सुरक्षित, सहज र छिटो हुने विश्वास गरिएको छ ।

