रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु, दाइजोका लागि हत्या भएको माइती पक्षको आरोप

रौतहट, २८ असार । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शङ्कास्पद मृत्यु भएपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ । घटनालाई हत्या वा आत्महत्या भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार कटहरिया–३ बरेडवा निवासी निरज कुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार शनिबार आफ्नै घरको सुत्ने कोठामा साडीको पासो लगाई बाँसको कोरोमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी सहायक निरीक्षक लालबाबु सहनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको मुचुल्का उठाई आवश्यक प्रमाण सङ्कलन गरेको प्रहरीले जनाएको छ ।
कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ ।
यता, मृतकका बुबा रबिन्द्र साह सोनारले आफ्नी छोरीको हत्या गरिएको आरोप लगाएका छन् । उनका अनुसार छोरीलाई झुन्ड्याएर आत्महत्याजस्तो देखाउने प्रयास गरिएको हो । घटनापछि मृतकका श्रीमान् निरज कुमार साह सोनार सम्पर्कविहीन रहेको भन्दै उनले यसले थप शङ्का उत्पन्न गरेको बताएका छन् ।
मृतकका बुबाले गत फागुन महिनामा छोरीको विवाह भएको र विवाहपछि निरन्तर दाइजोका नाममा एसी तथा नगद रकम माग्ने, मानसिक दबाब दिने र पटकपटक कुटपिट गर्ने गरेको आरोप पनि लगाएका छन् । दाइजोको माग पूरा नभएपछि छोरीमाथि अमानवीय व्यवहार हुँदै आएको उनको दाबी छ । घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले घटनाको अनुसन्धान जारी रहेको बताए । उनका अनुसार हाल प्राप्त प्रारम्भिक सूचनाका आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने अवस्था रहेको र पोस्टमार्टम प्रतिवेदन, फरेन्सिक प्रमाण तथा अन्य तथ्यका आधारमा घटनाको वास्तविकता सार्वजनिक गरिनेछ ।
प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षसँग सोधपुछ, प्रमाण सङ्कलन र अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।

