‘सुरक्षित पानी’को दाबी गर्ने उद्योगबाट म्याद नलेखिएका बोतल बिक्री

जनकपुरधाम, २७ असार । जनकपुरधाम उपमहानगरपालिका–१९ बेङ्गामा सञ्चालित लक्ष्मी प्रशोधित पानी उद्योगबाट उत्पादन गरिएको पिउने पानीका बोतलमा उत्पादन तथा उपभोग्य म्याद (Expiry Date) उल्लेख नगरिएको भेटिएको छ ।
मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको प्रशोधित पिउने पानीजस्तो संवेदनशील वस्तुमा यस्तो लापरबाही देखिनुले उपभोक्ताको स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
जनकपुरधाम-४ स्थित एक होटेल संचालकले खरिद गरेको दुई वटा कार्टुनबाट पानीका बोतल निकालेर हेर्दा सिलप्याक गरिएका ६ वटा बोतलमा उत्पादन मिति वा उपभोग्य म्यादमध्ये कुनै पनि विवरण उल्लेख नभएको पाइएको हो ।
बजारमा बिक्रीका लागि पठाइएका यस्ता बोतलले उद्योगले गुणस्तर नियन्त्रण र लेबलिङ प्रक्रियामा आवश्यक सावधानी नअपनाएको देखिएको उपभोक्ताको भनाइ छ ।
नेपालमा खाद्य तथा पेय पदार्थ उत्पादन तथा बिक्री वितरण गर्दा उत्पादन मिति, उपभोग्य म्याद, ब्याच नम्बर, उत्पादकको विवरणलगायत अनिवार्य सूचना उल्लेख गर्नुपर्ने व्यवस्था छ ।
तर, उक्त उद्योगबाट बजारमा पुगेका केही बोतलमा आधारभूत जानकारीसमेत नहुँदा उपभोक्ताले आफूले सेवन गरिरहेको पानी कहिले उत्पादन भएको हो वा कति समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न मिल्ने हो भन्ने जानकारी पाउन सकेका छैनन् ।
उद्योगका सञ्चालक अजय साहले भने यो नियोजित नभई लेबलिङ गर्ने क्रममा कर्मचारीबाट भएको त्रुटि हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
‘लेबलिङ गर्ने बेलामा कर्मचारीसँग गल्ती भएको हुन सक्छ, यस विषयमा हामी बुझेर आवश्यक सुधार गर्छौं,’ उनले भने ।
यद्यपि, मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्यजन्य वस्तुमा सामान्य त्रुटिका नाममा यस्तो कमजोरीलाई बेवास्ता गर्न नसकिने उपभोक्ताहरूको भनाइ छ ।
प्रशोधित पानी सुरक्षित र गुणस्तरीय हुने विश्वासका आधारमा उपभोक्ताले खरिद गर्ने भएकाले उत्पादनसम्बन्धी आधारभूत जानकारीसमेत नहुनु गम्भीर लापरबाही भएको स्थानीय सुभाष कर्णको तर्क छ ।
खाद्य सुरक्षा तथा गुणस्तरका जानकारहरूका अनुसार म्याद नखुलाइएका खाद्य तथा पेय पदार्थ उपभोग गर्दा उपभोक्ताले वस्तुको गुणस्तर र सुरक्षाबारे यकिन गर्न सक्दैनन् ।
यस्तो अवस्थाले दूषित वा लामो समयअघि उत्पादन भएको वस्तु प्रयोग हुने जोखिम बढ्ने भएकाले सम्बन्धित निकायले तत्काल छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने स्थानीयको सुझाव छ ।
स्थानीय उपभोक्ताले पनि बजारमा यस्ता बोतल कसरी पुगे, उद्योगको गुणस्तर परीक्षण र सरकारी अनुगमन प्रभावकारी छ कि छैन भन्ने विषयमा प्रश्न उठाएका छन् ।

उनीहरूले सम्बन्धित निकायले उद्योगको उत्पादन प्रक्रिया, लेबलिङ प्रणाली तथा बजारमा पुगेका उत्पादनको तत्काल निरीक्षण गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रणसँग सम्बन्धित निकायले यस्ता उद्योगहरूको नियमित अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा समेत लापरबाही दोहोरिने गरेको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ ।
उनीहरूका अनुसार यस्तो घटनाले एउटा उद्योगको कमजोरी मात्र नभई समग्र खाद्य सुरक्षा प्रणाली र नियामक निकायको प्रभावकारितामाथि पनि प्रश्न खडा गरेको छ ।

