जनकपुरधाम, २७ असार । धनुषाको मिथिला नगरपालिका–२ नकटाझिजस्थित खानेपानी आयोजनाको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएपछि स्थानीयवासी खानेपानी सेवाबाट वञ्चित भएका छन् ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष सूर्यनारायण महतोका अनुसार आयोजनामा जडान गरिएको ५० केभी क्षमताको ट्रान्सफर्मर पोलबाट झारेर त्यसभित्र रहेका तामाका तार र तेल चोरी गरिएको हो ।

ट्रान्सफर्मरको बाहिरी संरचना भने घटनास्थलमै फेला परेको उनले जानकारी दिए ।

ट्रान्सफर्मर चोरी भएसँगै आयोजनाबाट वितरण हुँदै आएको खानेपानी सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।

अध्यक्ष महतोका अनुसार आयोजनाअन्तर्गत रहेका करिब ७ सय धारामा पानी आपूर्ति बन्द हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराइएको र चोरीमा संलग्न व्यक्तिको खोजी तथा आवश्यक अनुसन्धान भइरहेको समितिले जनाएको छ ।

स्थानीयवासीले सार्वजनिक सेवासँग प्रत्यक्ष जोडिएको खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरीको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी सेवा पुनः सञ्चालनको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।