जनकपुरधाम, २७ असार । जलवायु परिवर्तनबाट बढ्दो जोखिम र त्यसको प्रभाव न्यूनीकरणमा युवाको भूमिका सशक्त बनाउने उद्देश्यले जनकपुरधाममा ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला तथा प्यानल छलफल’ सम्पन्न भएको छ ।

दिगो विकास इन्स्टिच्युटको आयोजना तथा कायापलट र ओरेक नेपालको सहयोगमा जिल्ला समन्वय समिति धनुषाको सभाहलमा आयोजित एकदिने कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका युवा, सामाजिक अभियन्ता, विद्यार्थी, महिला तथा वातावरण संरक्षणमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा करिब ६० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका उपसचिव बेचन कुमार महतोले मधेश प्रदेशले पछिल्ला वर्षहरूमा अत्यधिक गर्मी, अनियमित वर्षा, बाढी तथा भूमिगत जलस्रोतको तीव्र ह्रासजस्ता जलवायुजन्य समस्याको सामना गरिरहेको बताए ।

उनले जलवायु संकट अब वातावरणीय चुनौती मात्र नभई सामाजिक तथा आर्थिक न्यायसँग प्रत्यक्ष जोडिएको विषय बनेको उल्लेख गरे ।

उपसचिव महतोले मन्त्रालयले वन तथा वातावरण क्षेत्रमा लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण (GEDSI) सम्बन्धी रणनीति कार्यान्वयनमा ल्याएको जानकारी दिँदै ती नीतिहरू स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुनु आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा कायापलटका कार्यक्रम अधिकृत प्रत्युष ठाकुरले जलवायु परिवर्तन, जलवायु न्याय, जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मानव अधिकार र युवाको दायित्वबारे प्रस्तुति दिएका थिए ।

त्यस्तै, कार्यक्रम संयोजक आभाष कर्णले जलवायु न्याय अभियानमा युवाको नेतृत्व र सक्रिय सहभागिताको आवश्यकता औंल्याएका थिए ।

ओरेक नेपाल मधेश प्रदेशकी संयोजक बिना सिंहले जलवायु परिवर्तनका कारण महिला स्वास्थ्य र जीविकोपार्जनमा परेको असरबारे चर्चा गरिन् ।

नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष मनिका झाले सञ्चारमाध्यम र प्रविधिको प्रयोगमार्फत जलवायु न्यायसम्बन्धी जनचेतना विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रम संयोजक आभाष कर्णले जलवायु परिवर्तनको असर, वातावरण संरक्षण र जलवायु न्यायबारे युवामा नेतृत्व विकास गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताए ।

उनले जनकपुरधाममा फोहोर व्यवस्थापन, बढ्दो तापक्रम तथा अन्य वातावरणीय समस्याप्रति युवालाई सक्रिय बनाउँदै आगामी दिनमा पनि वातावरण संरक्षणका अभियान सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रम व्यवस्थापनमा धर्मेन्द्र महतो र आयुष कर्णले सहकार्य गरेका थिए ।

आयोजक दिगो विकास इन्स्टिच्युटले नेपालमा दिगोपन, समानता र जलवायु न्याय प्रवर्द्धन गर्दै युवा नेतृत्व विकास तथा सकारात्मक सामाजिक परिवर्तनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।