सिरहा अदालतद्वारा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान

सिरहा, २७ असार । सिरहा जिल्ला अदालतले भारतीय सुटर प्रयोग गरी हत्या तथा गोली प्रहार गराएको आरोप लागेका दुई अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा संगठित अपराधसम्बन्धी छुट्टाछुट्टै मुद्दामा पक्राउ परेका उपेन्द्र यादव र हरी ठाकुर बरहीलाई अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार प्रेमनाथ यादव हत्या प्रकरणका प्रतिवादी उपेन्द्र यादवलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा तथा श्याम सुन्दर ठाकुरमाथि भएको गोली प्रहार घटनाका प्रतिवादी हरी ठाकुर बरहीलाई ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दामा कारागार पठाइएको हो ।
प्रहरीका अनुसार गत पुस १६ गते सिरहा नगरपालिका–७ स्थित मैनावती नदी किनारको बाँसघारीमा ४२ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा उपेन्द्र यादवले योजनाबद्ध रूपमा भारतबाट सुटर बोलाएर हत्या गराएको तथ्य खुलेको प्रहरीले जनाएको छ । त्यसपछि उनलाई गत वैशाख २७ गते पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो ।
अदालतले प्रारम्भिक प्रमाणका आधारमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
यस्तै, गत माघ ४ गते औरही गाउँपालिका–५ स्थित जितिया मन्दिर परिसरमा श्याम सुन्दर ठाकुरमाथि गोली प्रहार भएको घटनामा पनि भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हरी ठाकुर बरहीले भारतबाट सुटर मगाएर ठाकुरमाथि गोली प्रहार गराएको प्रहरीको दाबी छ ।
बरहीलाई पनि गत वैशाख २७ गते सिरहा नगरपालिका–१ स्थित हनुमानचोकबाट पक्राउ गरिएको थियो । उनीविरुद्ध ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दा दर्ता गरिएको थियो ।
जिल्ला अदालत सिरहाले दुवै घटनाका अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

