महोत्तरी, २७ असार । महोत्तरी प्रहरीले विशेष सूचनाको आधारमा गरेको चेकजाँचका क्रममा ३५.०४ ग्राम खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शुक्रबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय बर्दिवास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दिवास नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको चेकपोस्टमा यात्रुवाहक बसमा सघन जाँच गरेको थियो ।

राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ७००२ नम्बरको बसमा सवार पदम ठकुराठीको साथबाट तीन वटा प्लास्टिकले बेरिएको खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको पदार्थको तौल गर्दा प्लास्टिकसहित ४७.८० ग्राम र प्लास्टिक हटाएर शुद्ध तौल ३५.०४ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका ठकुराठी र बरामद गरिएको लागुऔषधलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको तथा घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय बर्दिवासबाट भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।