धनुषामा पानी संकट चुलिँदै, प्रशासनले भन्यो– अनुदानका बोरिङबाट चर्को शुल्क नलिनुहोस्

जनकपुरधाम, २७ असार । मनसुनी वर्षा सुरु भइसके पनि धनुषाका विभिन्न क्षेत्रमा खडेरी र खानेपानीको समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी अनुदानमा जडान गरिएका भूमिगत पानीका स्रोतबाट चर्को शुल्क असुल नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनामा कमला नगरपालिका, सबैला नगरपालिका, शहीदनगर नगरपालिका लगायतका केही स्थानीय तहका वडा तथा बस्तीमा पानीका मुहान सुक्नुका साथै बोरिङबाट समेत पानी नआउँदा खानेपानीको समस्या उत्पन्न भएको उल्लेख गरिएको छ ।
प्रशासनका अनुसार प्रभावित क्षेत्रमा तत्काल पिउने पानीको व्यवस्था मिलाउन सम्बन्धित वडा, स्थानीय तह तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग समन्वय गरी आवश्यक पहल भइरहेको छ ।
यसैबीच, विगतमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न दातृ निकायको अनुदानमा जडान गरिएका पम्पसेट, बोरिङ, डिप बोरिङ र इनारजस्ता सामुदायिक खानेपानी तथा सिँचाइका स्रोतबाट केही जग्गाधनीले अत्यधिक शुल्क लिएर मात्र पानी उपलब्ध गराउने गरेको गुनासो प्रशासनमा पुगेको जनाएको छ ।
प्रशासनले सरकारी अनुदानमा निर्माण भएका यस्ता संरचनाबाट समुदायले निर्धारण गरेको सर्वसुलभ दरमै पानी तथा सिँचाइ सुविधा उपलब्ध गराउन आग्रह गरेको छ ।
व्यक्तिगत लाभ वा नाफा कमाउने उद्देश्यले चर्को शुल्क असुलेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले खानेपानी संकटका बेला सामुदायिक हितलाई प्राथमिकतामा राखी सबै सरोकारवालालाई जिम्मेवार बन्नसमेत आग्रह गरेको छ ।

