जनकपुरधाम, २६ असार । काठमाडौंमा आत्मदाह गरेपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको स्मृतिमा जनकपुरधाममा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

जनक मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्थानीय युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दीप प्रज्वलन गर्दै दिवंगत नेपालीप्रति श्रद्धासुमन अर्पण गरेका हुन् ।

जनकपुरधाम–३ स्थित जनकचोकमा शुक्रबार साँझ सम्पन्न कार्यक्रममा सहभागीहरूले मौनधारण गर्दै नेपालीको आत्माको चिरशान्तिको कामना गरेका थिए । साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मानव अधिकार विभाग, मधेश प्रदेशका सभापति डा. रोबिन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले नेपालीको निधनलाई दुःखद घटना भएको उल्लेख गर्दै नागरिकका समस्या र गुनासाहरूलाई समयमै सम्बोधन गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले हातमा क्यान्डल बोकेर दिवंगत नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।