जनकपुरधाम, २६ असार । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि लामो समयदेखि फरार रहेका ५२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरूको खोजतलास गरी पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये कुटपिट, कुटपिट तथा लुटपाट, चोरी, लुटपाट, बालविवाह, बोक्सीको आरोप, नागरिकता किर्ते, सवारी ज्यान, सवारी अंगभंग, जालसाजी, लागूऔषध, चेक अनादर, गालीबेइज्जती तथा लेनदेनसम्बन्धी मुद्दाका फरार प्रतिवादी रहेका छन् ।

उनीहरूमध्ये केहीलाई १५ दिनदेखि २ वर्ष ३ महिनासम्म कैद सजाय तोकिएको थियो भने अन्यलाई विभिन्न रकमको जरिवाना मात्रै तोकिएको थियो । जरिवानाको रकम ३०० रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ ।

साथै अदालतको फैसला कार्यान्वयनबाट कानुनी शासनलाई प्रभावकारी बनाउने र अपराध नियन्त्रणमा थप सहयोग पुग्ने विश्वास प्रहरीले व्यक्त गरेको छ ।