पत्रकारिता पुरस्कार र पत्रकार कल्याण कोष सञ्चालनको तयारीमा मधेश मिडिया काउन्सिल

जनकपुरधाम, २६ असार । मधेश प्रदेशमा क्रियाशील पत्रकारलाई सम्मान, प्रोत्साहन तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले तयार गरिएका तीनवटा महत्त्वपूर्ण कार्यविधिमाथि मधेश प्रदेश मिडिया काउन्सिलले प्रदेशभरिका पत्रकारसँग छलफल गरेको छ ।
शुक्रबार धनुषाको मिथिला बिहारीस्थित कल्चरल भिलेजमा आयोजित कार्यक्रममा ‘मिडिया काउन्सिल पत्रकारिता पुरस्कार कार्यविधि–२०८३’, ‘पत्रकार कल्याण कोष सञ्चालन कार्यविधि–२०८३’ र ‘आमसञ्चार माध्यमको श्रेणी विभाजन सम्बन्धी कार्यविधि–२०८३’ को मस्यौदामाथि सुझाव संकलन गरिएको हो ।
काउन्सिलले प्रदेशमा क्रियाशील पत्रकारलाई विभिन्न चार विधामा पुरस्कृत गर्ने तथा दुर्घटना, बिरामी वा अन्य आपतकालीन अवस्थामा आर्थिक सहयोग उपलब्ध गराउन पत्रकार कल्याण कोष स्थापना गर्ने तयारी गरेको जनाएको छ ।
कार्यक्रममा सहभागी पत्रकारहरूले दुवै कार्यविधिको स्वागत गर्दै आवश्यक सामान्य संशोधनपछि शीघ्र कार्यान्वयनमा लैजान सुझाव दिएका थिए ।
यद्यपि, आमसञ्चार माध्यमको श्रेणी विभाजनसम्बन्धी कार्यविधिलाई थप परिमार्जन आवश्यक रहेको भन्दै त्यस विषयमा व्यापक छलफल गर्नुपर्ने धारणा सहभागीहरूले राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले पत्रकारहरूको सुझावलाई समेटेर कार्यविधिलाई परिमार्जनसहित कार्यान्वयनमा ल्याउन आग्रह गरे ।
उनले प्रदेश सरकार पत्रकारहरूको पेशागत विकास र हितका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष बन्दना झाले छलफलका क्रममा प्राप्त सुझावलाई समावेश गर्दै कार्यविधिलाई अन्तिम रूप दिएर पारित गर्ने तयारी भइरहेको जानकारी दिइन् ।
छलफलमा आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडगा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव हदिस खुदार, केन्द्रीय सदस्य राजेश कुमार कर्ण, राजु परियार, केन्द्रीय परिषद् सदस्य अजय कुमार झा तथा गोरखापत्रका मधेश प्रदेश संयोजक धवेन्द्र झा लगायतले कार्यविधिका विभिन्न पक्षमा सुझाव दिएका थिए ।

