जनकपुरधाम, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माछाका भुरा वितरण कार्यक्रममा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुकेश्वर झासहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७४/७५ मा माछाका भुरा वितरणका लागि विनियोजित अनुदान कार्यक्रममा व्यापक अनियमितता भएको उजुरीपछि गरिएको अनुसन्धानबाट भ्रष्टाचार भएको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको हो ।

अनुसन्धानका क्रममा सरकारी फार्मबाट सीमित मात्रामा माछाका भुरा खरिद गरिएको, बाँकी भुरा निजी फर्मबाट खरिद गरिएको देखाई कागजी प्रक्रिया मिलाइएको तथा कृषकलाई वितरण नै नगरी वितरण भएको देखाउन नक्कली भरपाइ तयार गरी सरकारी रकम हिनामिना गरिएको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार अनुदान कार्यक्रमको उद्देश्य विपरीत सरकारी रकमको दुरुपयोग गर्दै गैरकानुनी लाभ पुर्‍याउने कार्यमा संलग्न रहेको निष्कर्षसहित तत्कालीन कार्यालय प्रमुख झासहित चार जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

आयोगले सार्वजनिक अनुदान कार्यक्रमलाई पारदर्शी र उत्तरदायी बनाउन यस्ता अनियमिततामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।