भुक्तानी रोकिएपछि एकडारा गाउँपालिकामा तालाबन्दी

महोत्तरी, २६ असार । विकास निर्माणका योजनाको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी, उपभोक्ता समिति तथा सेवाग्राहीहरूले महोत्तरीको एकडारा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
आर्थिक वर्ष २०८२/८३ सकिनै लाग्दा पनि सम्पन्न योजनाको भुक्तानी नदिएको भन्दै उनीहरूले गाउँपालिकाको मुख्य प्रशासनिक भवनसहित विभिन्न शाखामा तालाबन्दी गरेका हुन् ।
आन्दोलनमा सहभागी निर्माण व्यवसायी तथा उपभोक्ता समितिका प्रतिनिधिहरूले पटकपटक भुक्तानी माग गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेको आरोप लगाएका छन् ।
उनीहरूका अनुसार योजना सम्पन्न भइसक्दा पनि बिल भुक्तानी नहुँदा व्यवसायी र उपभोक्ता समिति आर्थिक समस्यामा परेका छन् ।
आन्दोलनकारीहरूले भुक्तानीको प्रतिबद्धता नआएसम्म तालाबन्दी र आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
उनीहरूले गाउँपालिकाको नियमित कामकाजसमेत ठप्प पार्दै जिम्मेवार पक्षसँग तत्काल वार्ता र निकासको माग गरेका छन् ।
यसैबीच, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित योजना, प्राविधिक र लेखा शाखाका प्रमुख कर्मचारी विगत करिब दुई सातादेखि कार्यालयमा अनुपस्थित रहेको आन्दोलनकारीहरूको आरोप छ ।
उनीहरूले सम्बन्धित कर्मचारीहरू सम्पर्कविहीन बनेको र कार्यालयले उपलब्ध गराएका मोबाइल नम्बरसमेत बन्द रहेको दाबी गरेका छन् ।
आन्दोलनकारीहरूले आर्थिक वर्षको अन्तिम समयमा कार्यालय छाड्ने कर्मचारीहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् । साथै सम्पन्न योजनाको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
तालाबन्दीका कारण गाउँपालिकाबाट सेवा लिन आएका सर्वसाधारणसमेत प्रभावित भएका छन् ।
स्थानीयवासीले समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल पहल गरी भुक्तानी प्रक्रिया टुंग्याउन र सेवा प्रवाहलाई नियमित बनाउन आग्रह गरेका छन् ।

