जनकपुरधाम, २६ असार । खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरेको पाइएपछि जनकपुरधामका दुई होटल कारबाहीमा परेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जनकपुरले गरेको संयुक्त बजार अनुगमनका क्रममा गम्भीर कैफियत फेला परेपछि दुवै होटललाई २५–२५ हजार रुपैयाँका दरले कुल ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अनुसार मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको उपस्थितिमा गरिएको अनुगमनका क्रममा जनकपुरधामस्थित मिथिला थाली प्रा.लि. मा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएको थियो ।

अनुगमनका क्रममा होटलले खानेकुरामा अखाद्य कृत्रिम रङ्ग प्रयोग गरेको फेला परेको विभागले जनाएको छ । त्यसक्रममा अखाद्य रङ्ग मिसाइएको करिब ५ किलोग्राम ब्याटर (पिठोको घोल) तत्काल नष्ट गरिएको थियो ।

त्यसैगरी, होटलको भान्छा अत्यन्तै अस्वच्छ रहेको, भान्छा र भाँडा धुने स्थान एउटै रहेको तथा यसअघि अनुगमन टोलीले दिएका निर्देशनसमेत कार्यान्वयन नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारीमार्फत होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

उक्त अनुगमनकै क्रममा रामानन्द चोकस्थित सृष्टि वैष्णव होटल पनि कारबाहीमा परेको छ । होटलले दर्ताबिनै व्यवसाय सञ्चालन गरेको तथा पटकपटक प्रयोग गरिएको कमसल तेलमा जेरी र समोसा पकाएको भेटिएपछि सो होटललाई पनि २५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

यससँगै अनुगमन टोलीले जनकपुरधामका अन्य ६ वटा मिठाई तथा नास्ता पसलमा समेत निरीक्षण गरेको थियो । रघुपति मिष्ठान्न भण्डार, स्वादिष्ट नास्ता पसल, शुभलक्ष्मी नास्ता पसल, मोहन महाराजाजी नास्ता पसल, गुड्डु होटल र होटल सीराशरणमा गरिएको अनुगमनका क्रममा सरसफाइको अभाव, लेबल नभएका खाद्य सामग्रीको प्रयोग तथा मसीजन्य कागजमा खानेकुरा राखेर बिक्री गर्ने जस्ता कमजोरी भेटिएको विभागले जनाएको छ ।

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार अनुगमनमा आठवटा व्यवसायको निरीक्षण गरिएको थियो । जसमध्ये गम्भीर कैफियत देखिएका दुई होटलबाट कुल ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ भने अन्य व्यवसायीलाई तत्काल सुधार गर्न कडा निर्देशन दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य व्यवसायमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने भन्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तर र प्रभावकारी बनाइने जनाएको छ ।