न्याय खोज्दै काठमाडौंतर्फ पैदल हिँडे मिटरब्याज पीडित

जनकपुरधाम, २६ असार । मिटरब्याजीहरूको शोषण र अत्याचारविरुद्ध न्यायको माग गर्दै जनकपुरधामबाट सुरु भएको मिटरब्याज पीडितहरूको पैदल ‘न्याय मार्च’ दोस्रो दिन धनुषाको ढल्केबर पुगेको छ ।
सरकारसँग भएका सहमति कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले सुरु गरिएको यो यात्रा सङ्घीय राजधानी काठमाडौंसम्म पुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालको आयोजनामा बिहीबार साँझ जनकपुरधामस्थित तिरहुतियागाछीबाट सुरु भएको पदयात्रामा सहभागी पीडितहरू शुक्रबार बिहान ढल्केबर आइपुगेका हुन् । उनीहरू ढल्केबरबाट महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिबासतर्फ अघि बढिरहेका छन् ।
आयोजकका अनुसार करिब एक सातासम्म निरन्तर पैदल यात्रा गर्दै आन्दोलनकारीहरू काठमाडौं पुग्नेछन् । त्यहाँ पुगेर सरकारसमक्ष मिटरब्याज पीडितसँग विगतमा भएका सहमति तत्काल कार्यान्वयन गर्न माग गर्ने तयारी रहेको छ ।
आन्दोलनमा सहभागी पीडितहरूले सरकारले यसअघि चार पटकसम्म लिखित सहमति गरे पनि कुनै पनि सहमति व्यवहारमा कार्यान्वयन नगरेको आरोप लगाएका छन् । बारम्बारको आश्वासन र सम्झौताले समस्या समाधान नभएपछि बाध्य भएर फेरि सडक संघर्षमा उत्रिनुपरेको उनीहरूको भनाइ छ ।
उनीहरूका अनुसार साहु–महाजनबाट लिइएको ऋणको नाममा अत्यधिक ब्याज, जग्गा–जमिन कब्जा र आर्थिक शोषणको चपेटामा परेका किसान तथा मजदुर अझै न्यायको पर्खाइमा छन् । सरकारसँग भएका प्रतिबद्धता कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन् ।
मिटरब्याज पीडितहरूले आफ्नो पदयात्रालाई विरोधको कार्यक्रम नभई न्याय, सम्मान र राज्यबाट प्राप्त हुनुपर्ने अधिकारको खोजीका रूपमा लिएको बताएका छन् । उनीहरूले काठमाडौं पुगेर सम्बन्धित निकायलाई पुनः ध्यानाकर्षण गराउँदै पीडितको समस्या स्थायी रूपमा समाधान गर्न माग गर्ने जनाएका छन् ।

