डाँका मुद्दामा ६ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

सप्तरी, २६ असार । डाँका मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले डाँका मुद्दामा दोषी ठहर भएका नारायण साह तेली भन्ने भूप नारायण साहलाई पक्राउ गरेको हो ।
सप्तरी जिल्ला अदालत राजविराजले उनलाई यसअघि डाँका मुद्दामा ६ वर्ष कैद तथा ७२ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । अदालतको फैसला भएलगत्तै फरार रहेका साहलाई प्रहरीको खोजतलासका क्रममा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार साविक टिकुलिया गाविस–२, हाल खडक नगरपालिका–५ निवासी साहलाई पक्राउ गरी २०८३ असार २५ गते सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
अदालतको आदेशपछि दोषी ठहर भएका साहलाई कैद सजाय भुक्तानका लागि कारागार कार्यालय राजविराज पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
प्रहरीले अदालतबाट सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीहरूको खोजी तथा फैसला कार्यान्वयन अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।

