सिरहा, २६ असार । सिरहाको गोलबजार नगरपालिका–११ बलकावामा करिब दुई महिनाअघि भएको कुटपिट घटनामा न्याय नपाएको भन्दै इलाका प्रहरी कार्यालय गोलबजार पुगेका पीडित परिवारले आफूहरूमाथि प्रहरीले दुर्व्यवहार गरेको तथा आफन्तलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।

यद्यपि, प्रहरीले भने उक्त आरोप अस्वीकार गर्दै कार्यालयमा भएको हो–हल्ला नियन्त्रण गर्नका लागि मात्र एक जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

पीडित पक्षका अनुसार बाख्रासम्बन्धी सामान्य विवादबाट सुरु भएको झडपमा समसाद लहेरी, उनकी पत्नी जरिना खातुन तथा रुबो खातुन र कैस खातुनबीच कुटाकुट भएको थियो । झगडा छुट्याउन पुगेकी जरिना खातुनसमेत कुटपिटमा परेकी थिइन् ।

घटनामा श्रीमान–श्रीमती दुवै घाइते भएपछि उनीहरूलाई सुरुमा गोलबजारस्थित एक निजी स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको र १२ दिन उपचारपछि घर फर्किएको परिवारले जनाएको छ ।

घटनापछि वडा कार्यालयदेखि प्रहरी प्रशासनसम्म पटकपटक गुहार्दा पनि हालसम्म न्याय नपाएको पीडित पक्षको गुनासो छ । जरिना खातुनका अनुसार घटनासम्बन्धी निवेदन दिएको करिब दुई महिना बितिसक्दा पनि प्रहरीले कुनै ठोस कारबाही अघि बढाएको छैन ।

पीडितका अनुसार बिहीबार बिहान करिब ११ बजे छलफलका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा बोलाइए पनि विपक्षी पक्ष उपस्थित भएन । त्यसपछि आफूहरूलाई मात्र पटकपटक बोलाएर फर्काउने गरिएको भन्दै गुनासो राख्दा प्रहरीले गालीगलौज गर्दै कार्यालयबाट बाहिर निकालेको जरिनाको आरोप छ ।

‘हामी न्याय माग्न गएका थियौँ । तर, न्याय दिनुको साटो उल्टै अपमान गरियो,’ उनले भनिन् ।

समसाद लहेरीले पनि प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आफूले विरोध जनाएपछि आफ्ना भतिजा अफ्ताव लहेरीलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरे । ‘हामी पीडित भएर न्याय खोजिरहेका छौं । तर, हाम्रो कुरा कसैले सुन्न चाहेन,’ उनले बताए ।

घटनाबारे प्रतिक्रिया लिन इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीसँग सम्पर्क गर्ने प्रयास गर्दा उनी प्रत्यक्ष सम्पर्कमा नआएको र कार्यालयभित्र प्रवेश गर्न नदिन ड्युटीमा रहेका प्रहरीलाई निर्देशन दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

इता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले भने पीडित पक्षले लगाएको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार घटनामा कुनै व्यक्तिलाई मुद्दाका आधारमा थुनामा नराखिएको र कार्यालयमा हो–हल्ला तथा तनावको अवस्था सिर्जना भएपछि स्थिति सामान्य बनाउनका लागि मात्रै एक जनालाई नियन्त्रणमा लिइएको हो ।

डीएसपी पालले घटनाबारे थप जानकारी संकलन भइरहेको र आवश्यक अनुसन्धानपछि कानुनअनुसार प्रक्रिया अघि बढाइने बताए ।

पीडित पक्षले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा प्रहरीको व्यवहारबारे समेत अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।