जनकपुरधाम, २६ असार । आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणमा मधेश प्रदेश सरकारले बजेट खर्चको गति उल्लेखनीय रूपमा बढाएको छ ।

असार २५ गतेसम्म प्रदेश सरकारले कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको ४६ अर्ब ९८ करोड रुपैयाँमध्ये हालसम्म २६ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्षको अधिकांश समय सुस्त देखिएको बजेट कार्यान्वयन असार महिनामा भने तीव्र गतिमा अघि बढेको देखिएको हो ।

खर्च विवरणअनुसार चालु खर्चतर्फ १५ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ९ अर्ब ४९ करोड रुपैयाँ अर्थात् ६०.६९ प्रतिशत खर्च भएको छ ।

यस्तै, पुँजीगततर्फ ३१ अर्ब ३४ करोड रुपैयाँमध्ये १६ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ५४.१२ प्रतिशत बजेट कार्यान्वयन भएको मन्त्रालयले जनाएको छ ।

तथ्यांकले असार महिनामा खर्चको चाप अत्यधिक बढेको संकेत गरेको छ । जेठ १३ गतेसम्म प्रदेश सरकारले कुल ८ अर्ब ७६ करोड रुपैयाँ अर्थात् १८.६४ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको थियो ।

त्यसपछि करिब डेढ महिनाको अवधिमा मात्रै थप १७ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । यससँगै असार २५ गतेसम्म कुल खर्च २६ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो ।

प्रदेश सरकारको बजेट कार्यान्वयनको यो प्रवृत्तिले अधिकांश खर्च आर्थिक वर्षको अन्तिम महिनामा केन्द्रित भएको देखाउँछ । विकास आयोजनाको भुक्तानी, निर्माण सम्पन्न भएका योजनाको हिसाब फछ्र्योट तथा अन्य वित्तीय दायित्वको भुक्तानी असारमा एकैपटक बढ्दा खर्च दरमा उल्लेखनीय वृद्धि भएको अर्थ मन्त्रालयको विवरणले देखाएको छ ।

यद्यपि, आर्थिक वर्षको अन्त्यसम्म पनि कुल बजेटको झन्डै ४४ प्रतिशत रकम खर्च हुन बाँकी रहेकाले बजेट कार्यान्वयनको प्रभावकारिता र वर्षभरि समान रूपमा खर्च हुन नसक्ने प्रवृत्तिमाथि भने प्रश्न यथावत् रहेको छ ।