जरिवानापछि पनि सुधार भएन बर्गर हाउस, स्यान्डविचमा भेटियो कपाल

जनकपुरधाम, २५ असार । जनकपुरधामको पिडारी चोकस्थित The Burger House & Crunchy Fried Chicken मा खाद्य गुणस्तर र सरसफाइसम्बन्धी अर्को गुनासो सार्वजनिक भएको छ ।
एक ग्राहकले आफूले खरिद गरेको स्यान्डविचभित्र कपाल फेला परेको दाबी गरेपछि होटलको खाद्य सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठेको हो ।
पीडित ग्राहकका अनुसार स्यान्डविचको स्वाद र बनावट अस्वभाविक लागेपछि खोलेर हेर्दा त्यसभित्र कपाल भेटिएको थियो ।

उनका अनुसार बर्गर, स्यान्डविचलगायतका प्याक गरिएका खाद्य परिकार धेरैजसो उपभोक्ताले नखोली खाने भएकाले यस्ता समस्या सबै घटनामा सार्वजनिक नहुन सक्ने अवस्था रहेको छ ।
ग्राहकले घटनापछि होटल व्यवस्थापनसमक्ष गुनासो राखे पनि अपेक्षित जिम्मेवारी नदेखाएको आरोप लगाएका छन् ।
उनका अनुसार व्यवस्थापनले न त औपचारिक रूपमा क्षमायाचना गर्यो, न परिकारको रकम फिर्ता गर्यो वा नयाँ परिकार उपलब्ध गरायो । बरु सोही स्यान्डविचमा १० प्रतिशत छुट दिई बाँकी रकम भने असुलेको ग्राहकको भनाइ छ ।
घटनापछि स्थानीय उपभोक्ताले खाद्य सामग्रीको तयारी, भण्डारण तथा बिक्री प्रक्रियामा सरसफाइका मापदण्ड कडाइका साथ पालना गरिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनीहरूले यस्ता घटनाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जोखिम निम्त्याउने भएकाले सम्बन्धित नियामक निकायले निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन् ।

उक्त होटल यसअघि पनि सरकारी अनुगमनको दायरामा परिसकेको छ । असार १९ गते मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा खाद्य सरसफाइ र उपभोक्ता अधिकारसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको भन्दै होटललाई ३५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।
यसअघि कारबाही भइसकेको व्यवसायमा पुनः यस्तै प्रकृतिको गुनासो सार्वजनिक भएपछि खाद्य सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा उपभोक्ता सुरक्षाप्रति सम्बन्धित निकायको भूमिकामाथि पुनः प्रश्न उठ्न थालेको छ ।


