धनुषामा १० फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, २५ असार । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत खोजतलासका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना नकबजनी चोरी मुद्दामा २५ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना, एक जना चोरी मुद्दामा एक महिना कैद र दुई लाख ५२ हजार ७९० रुपैयाँ जरिवाना तथा एक जना लागूऔषध मुद्दामा दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय पाएका थिए ।
यस्तै, कुटपिट मुद्दाका ६ जना प्रतिवादीलाई जनही १४८ रुपैयाँ जरिवाना तोकिएको थियो भने बैंकिङ कसुर मुद्दाका एक जना प्रतिवादीलाई ८० हजार ५०० रुपैयाँ जरिवाना हुने फैसला अदालतले गरेको थियो ।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।
प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ ।

