सप्तरी, २५ असार । कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजले यस वर्ष जिल्लाका तीनवटै प्रमुख सिँचाइ प्रणालीमा समयमै पानी प्रवाह गरेपछि धान रोपाइँमा किसानलाई सहज भएको छ ।

कार्यालयले चन्द्र नहर, कोशी पम्प नहर र कोशी नहर सहायक वितरण प्रणालीमार्फत हजारौँ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ उपलब्ध गराएको जनाएको छ ।

कार्यालयका अनुसार चन्द्र नहरमा असार १० गतेदेखि पानी सञ्चालन गरिएको थियो भने गत आइतबारदेखि कोशी पम्प नहर र कोशी नहर सहायक वितरण प्रणालीमा पनि पानी प्रवाह सुरु गरिएको छ ।

छिन्नमस्ता गाउँपालिका–१ का किसान आनन्दी यादवले समयमै नहरमा पानी पुगेको र नियमित वर्षासमेत भइरहेकाले यस वर्ष धान रोपाइँमा कुनै समस्या नभएको बताए । उनका अनुसार सिँचाइ सहज हुँदा किसानलाई खेतीपातीमा ठूलो राहत पुगेको छ ।

कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार जिल्लामा करिब ३४ हजार ९८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ । यसका लागि मूल र शाखा गरी करिब एक हजार किलोमिटर लामो नहर सञ्जाल सञ्चालनमा रहेको उनले बताए ।

उनका अनुसार चन्द्र नहर प्रणालीबाट १० हजार ५०० हेक्टर, कोशी पम्प नहरबाट १३ हजार १०० हेक्टर तथा कोशी नहर सहायक वितरण प्रणालीबाट ११ हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा उपलब्ध गराइएको छ ।

कार्यालयले नहर संरचना पुरानो भएकाले केही क्षेत्रमा पानी पुर्याउन चुनौती रहे पनि समयमै पानी छाडिएको र पर्याप्त वर्षा भइरहेकाले यस वर्ष कमान्ड क्षेत्रका अधिकांश किसानले सिँचाइ अभाव झेल्न नपर्ने विश्वास व्यक्त गरेको छ ।

यद्यपि, नहर सरसफाइका लागि पर्याप्त बजेट नहुँदा कार्यालयले चुनौती सामना गरिरहेको जनाएको छ । प्रमुख यादवका अनुसार नहरमा वर्षेनि ठूलो मात्रामा बालुवा जम्मा हुने भए पनि चालु आर्थिक वर्षमा सरसफाइका लागि २८ लाख रुपैयाँ मात्र बजेट विनियोजन भएको छ । सीमित बजेटका कारण आवश्यकता र प्राथमिकताका आधारमा मात्र सरसफाइ गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

चालु आर्थिक वर्षमा कार्यालयले १७ करोड रुपैयाँ विकास बजेटमार्फत पानी तान्ने पम्प मर्मत, जीर्ण संरचनाको पुनःनिर्माण, चुहावट हुने स्थानमा पक्की नहर निर्माण तथा आवश्यक ठाउँमा कल्भर्ट निर्माणलगायतका काम सम्पन्न गरेको जनाएको छ ।

नहरको सुरक्षा र नियमित रेखदेखका लागि दैनिक ज्यालादारीमा १०९ जना कर्मचारी परिचालन गरिएको छ भने जिल्लाभर १९ वटा जल उपभोक्ता समिति नहर व्यवस्थापनमा सक्रिय रहेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख यादवले नहर किनारमा भएको अव्यवस्थित घर निर्माण र जग्गा अतिक्रमणका कारण सरसफाइ तथा मर्मत कार्यमा समस्या भइरहेको बताए । कार्यालयले अतिक्रमण हटाउन आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरिसकेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयबाट सुरक्षा व्यवस्था उपलब्ध भए तत्काल अतिक्रमण हटाउने तयारी रहेको उनले जानकारी दिए ।

उनका अनुसार बोदेबरसाइन नगरपालिका–५ स्थित कार्यालयको करिब दुई बिघा जग्गासमेत अतिक्रमणको जोखिममा रहेकाले त्यसको संरक्षणका लागि पश्चिमी क्षेत्रका नहर चौकीदारलाई पुरानो कार्यालय भवनमै नियमित रूपमा बस्ने व्यवस्था मिलाउने तयारी गरिएको छ ।