मधेशलाई साक्षर र शिक्षामा नमुना प्रदेश बनाउँछौँः शिक्षामन्त्री सिंह

सिरहा, २५ असार । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले आगामी आर्थिक वर्षको बजेट शिक्षा क्षेत्रलाई केन्द्रमा राखेर ल्याइएको बताउँदै मधेशलाई साक्षर र शिक्षाको क्षेत्रमा नमुना प्रदेशका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताएका छन् ।
सिरहाको लहान नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्ने कार्यक्रममा बोल्दै मन्त्री सिंहले सीमित स्रोतसाधनका बाबजुद शिक्षाको गुणस्तर सुधार, डिजिटल शिक्षाको विस्तार र विद्यालय शिक्षाबाट वञ्चित समुदायलाई मूलधारमा ल्याउने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
उनका अनुसार आगामी आर्थिक वर्षदेखि डिजिटल तथा प्राविधिक शिक्षाको प्रवद्र्धन, छात्रावाससहितका नमुना विद्यालय सञ्चालन, पाँच सय स्वयंसेवक शिक्षक परिचालन तथा दलित, मुसहर, बातरलगायत विपन्न समुदायका बालबालिकालाई विद्यालय शिक्षामा जोड्ने विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ ।
मन्त्री सिंहले मधेश प्रदेशका आठवटै जिल्लामा विद्यालय शिक्षाबाहिर रहेका करिब चार हजार बालबालिकाको पहिचान गरी उनीहरूलाई विद्यालयमा भर्ना गराउने योजना पनि बजेटमा समेटिएको जानकारी दिए ।
उनका अनुसार प्रत्येक जिल्लामा कम्तीमा दुई वटा नमुना विद्यालय स्थापना गर्ने, अंग्रेजी माध्यम सञ्चालन गर्ने सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने, उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने तथा कम्प्युटर, विज्ञान र गणित प्रयोगशाला स्थापना गर्ने कार्यक्रम पनि आगामी बजेटमा समावेश गरिएको छ ।
सिरहाका ८७ वटा विद्यालयमा ‘मोडल किचेन’ निर्माणको काम सुरु गरिने र आगामी वर्षहरूमा उक्त कार्यक्रम अन्य विद्यालयमा समेत विस्तार गरिने मन्त्री सिंहले बताए ।
यसैबीच, सिरहाको लहान नगरपालिका जिल्लाका १७ स्थानीय तहमध्ये साक्षर घोषणा हुने पहिलो नगरपालिका बनेको छ । नगरपालिकामा १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत नागरिक साक्षर रहेको पुष्टि भएपछि राष्ट्रिय मापदण्डअनुसार लहानलाई साक्षर नगरपालिका घोषणा गरिएको हो ।
राष्ट्रिय मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका कम्तीमा ९५ प्रतिशत नागरिक साक्षर भए स्थानीय तहलाई साक्षर घोषणा गर्न सकिने व्यवस्था छ । नगर साक्षर घोषणा समन्वय समितिको सिफारिस र नगरसभाको निर्णयका आधारमा लहानलाई औपचारिक रूपमा साक्षर नगरपालिका घोषणा गरिएको हो ।
नगरपालिकाले आगामी दिनमा निरन्तर शिक्षा, आजीवन सिकाइ र पूर्ण साक्षरताको अभियानलाई थप प्रभावकारी बनाउँदै पूर्ण साक्षर नगरपालिका बनाउने प्रतिबद्धता पनि जनाएको छ ।

