विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा, २५ असार । सिरहाको विष्णुपुर गाउँपालिकामा धान प्रशोधन उद्योग स्थापना गर्ने क्रममा सरकारी रकम दुरुपयोग गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना र एक सहकारी संस्थाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महत, गाउँपालिकाका इन्जिनियर तथा योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, साना किसान कृषि सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष सरोजकुमार यादव, सञ्चालक समितिका सदस्य राजेश्वरप्रसाद सिंह, धान प्रशोधन उद्योग निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार यादव, सचिव रामबाबु यादव र कोषाध्यक्ष कविता कुमारीविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई समेत प्रतिवादी बनाउँदै सबै प्रतिवादीसँग ४९ लाख २० हजार ९०३ रुपैयाँ बिगो असुल गर्न माग दाबी गरेको छ ।
आयोगका अनुसार नेपाल सरकारबाट धान प्रशोधन उद्योग स्थापना गर्न उपलब्ध गराइएको बजेट सहकारी संस्था र सम्बन्धित पदाधिकारीको मिलेमतोमा दुरुपयोग गरिएको थियो । उद्योग निर्माणका लागि उपभोक्ता समिति गठन गरी फर्जी मूल्यांकन तयार पारिएको र त्यसकै आधारमा सरकारी रकम भुक्तानी लिइएको भन्ने उजुरीपछि अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।
अनुसन्धानका क्रममा सरकारी रकम अनियमित रूपमा खर्च गरिएको पुष्टि भएपछि सम्बन्धित व्यक्ति तथा संस्थाविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
उक्त मुद्दाको सुनुवाइ विशेष अदालतले कानुनी प्रक्रिया अनुसार अघि बढाउनेछ ।

