पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्सा, २५ असार । पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत संजयकुमार पाण्डेयसहित तीन जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याएको, सरकारी कागजात सच्याएको तथा झुटा लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा पाण्डेयसहित अपाङ्गता शाखाकी कर्मचारी अम्बिका महतो र पोखरिया नगरपालिका–१० निवासी महेन्द्र राउतकुर्मीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
आयोगले तीनै जनासँग जनही १ लाख ९१ हजार ५२० रुपैयाँ बिगो असुल गर्न माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार नगरपालिकामा अपाङ्गता परिचयपत्र वितरणका क्रममा सरकारी अभिलेख सच्याई अनियमित ढंगले परिचयपत्र जारी गरी सरकारी रकम हिनामिना गरिएको भन्ने उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो ।
अनुसन्धानबाट सरकारी कागजातमा हेरफेर गरी गलत विवरणका आधारमा आर्थिक अनियमितता गरिएको देखिएको निष्कर्षपछि उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
अब उक्त मुद्दाको टुंगो विशेष अदालत काठमाडौंले कानुनी प्रक्रिया पूरा गरेपछि लगाउनेछ ।

