गोठबाट चार थान सालको गोलिया बरामद

बारा, २५ असार । बाराको कोल्हवी नगरपालिका–५ सखुईस्थित एक स्थानीयको गोठबाट डिभिजन वन कार्यालय बाराले चार थान सालको गोलिया बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा गरिएको संयुक्त अपरेसनका क्रममा चोरी गरेर लुकाइराखिएको ‘ए ग्रेड’को सालको काठ नियन्त्रणमा लिइएको हो ।
डिभिजन वन कार्यालयअन्तर्गत तामागढी सब–डिभिजन वन कार्यालयबाट खटिएको वन कर्मचारी, वन रक्षक तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त काठ बरामद गरेको जनाएको छ ।
तामागढी सब–डिभिजन वन कार्यालयका प्रमुख कृष्ण पटेलका अनुसार काठ नियन्त्रणमा लिने क्रममा स्थानीयवासीले करिब दुई घण्टासम्म टोलीको काममा अवरोध गरेका थिए । स्थानीयको विरोधका बाबजुद टोलीले काठ बरामद गर्न सफल भएको उनले बताए ।
उनका अनुसार काठ लुकाएर राखिएको गोठका घरधनीको पहिचान अझै खुल्न सकेको छैन । स्थानीयले सम्बन्धित व्यक्तिको नाम खुलाउन नमानेपछि घटनाबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।
प्रमुख पटेलले काठ तस्करहरूबीच आपसी विवाद भएपछि त्यसबारे सूचना वन कार्यालयसम्म पुगेको र त्यसकै आधारमा १५ सदस्यीय टोली परिचालन गरिएको जानकारी दिए । ‘हामी सूचना पाएलगत्तै घटनास्थल पुगेका थियौँ । स्थानीयको अवरोधका बीच पनि काठ नियन्त्रणमा लिन सफल भयौँ,’ उनले भने ।
वन कार्यालयका अनुसार बाराको वन क्षेत्र विशेषगरी जीतपुरसिमरा, कोल्हवी र निजगढ नगरपालिका आसपास फैलिएको छ । राजमार्गभन्दा दक्षिण–पश्चिम भित्री क्षेत्रमा पर्ने कोल्हवीका गाउँहरूमा अन्य स्थानको तुलनामा वन पैदावार चोरी तथा काठ तस्करीका घटना बढी हुने गरेका छन् ।
वन कार्यालयले घर, गोठ वा अन्य संरचनाभित्र लुकाएर राखिएका अवैध काठ बरामद गर्ने क्रममा वन कर्मचारीले पटकपटक स्थानीयको अवरोध र प्रतिरोध सामना गर्नुपरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

