जीर्ण गरुडा–कटहरिया सडकले बढायो सास्ती, तत्काल मर्मत नगरे आन्दोलन गर्ने स्थानीयको चेतावनी

रौतहट, २५ असार । रौतहटको गरुडा–कटहरिया सडक वर्षौँदेखि जीर्ण अवस्थामा रहेपछि स्थानीयवासी, विद्यार्थी, किसान, व्यापारी र बिरामीले दैनिक सास्ती खेप्न बाध्य भएका छन् ।
वर्षायामसँगै सडकको अवस्था झन् जोखिमपूर्ण बनेपछि स्थानीयले तत्काल मर्मत–सम्भार गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
स्थानीयका अनुसार सडकका विभिन्न स्थानमा दुईदेखि तीन फिटसम्म गहिरा खाल्डाखुल्डी परेका छन् । वर्षा भएपछि ती खाल्डामा पानी र हिलो जम्दा सवारी साधन फस्ने, दुर्घटनाको जोखिम बढ्ने र आवागमनसमेत प्रभावित हुने गरेको छ । सडकको अधिकांश कालोपत्रे उप्किएकाले सुक्खा मौसममा अत्यधिक धुलो उड्ने समस्या पनि उत्तिकै गम्भीर रहेको उनीहरूको भनाइ छ ।
धुलोका कारण सडक आसपासका बासिन्दाको जनजीवन प्रभावित भएको छ । घर तथा पसलमा धुलो भरिने, वातावरण प्रदूषित हुने र श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको स्थानीयले बताएका छन् ।
गरुडा–कटहरिया हुँदै बिर्तीसम्म जोडिने यो सडक रौतहटको सदरमुकाम गौर तथा सर्लाहीसँग जोड्ने प्रमुख मार्गमध्ये एक हो । दैनिक हजारौँ यात्रु र सवारी साधन आवतजावत गर्ने यस सडकको दयनीय अवस्थाले सामान्य दूरी पार गर्नसमेत लामो समय लाग्ने गरेको स्थानीयको अनुभव छ ।
सडकको खराब अवस्थाका कारण व्यापार तथा कृषि क्षेत्रमा समेत प्रत्यक्ष असर परेको व्यवसायी र किसानहरू बताउँछन् । ढुवानीमा ढिलाइ हुने, सवारी साधन बारम्बार बिग्रिने र मर्मत खर्च बढ्दा व्यवसाय सञ्चालन महँगो बन्दै गएको उनीहरूको भनाइ छ । किसानले समयमै कृषि उपज बजारसम्म पु¥याउन नसक्दा आर्थिक नोक्सानी व्यहोर्नुपरेको गुनासो गरेका छन् ।
विशेषगरी मोटरसाइकल चालकहरू बढी जोखिममा परेका छन् । वर्षा हुँदा पानीले खाल्डाखुल्डी ढाकिने भएकाले दुर्घटनाको सम्भावना बढ्ने गरेको स्थानीयको भनाइ छ । एम्बुलेन्स, विद्यालय बस तथा सार्वजनिक यातायात सञ्चालनसमेत सहज हुन सकेको छैन ।
कटहरिया नगरपालिका–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले उक्त सडक हजारौँ नागरिकको दैनिक आवागमनको मुख्य मार्ग भएकाले यसको तत्काल मर्मत आवश्यक रहेको बताए । वर्षौँदेखि सडक जीर्ण रहे पनि सम्बन्धित निकायले पर्याप्त चासो नदिएको भन्दै उनले वर्षायाममा यात्रु, विद्यार्थी, बिरामी र किसान सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरे ।
स्थानीयवासीले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी पहल नभएको गुनासो गर्दै वर्षायामअघि नै खाल्डाखुल्डी पुर्ने, पानी निकासको उचित व्यवस्था मिलाउने तथा दीर्घकालीन रूपमा सडक स्तरोन्नति गरी गुणस्तरीय कालोपत्रे निर्माण गर्न माग गरेका छन् ।
समयमै मर्मत कार्य सुरु नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत स्थानीयले दिएका छन् ।

