रौतहटमा नहरमा युवतीको शव फेला

रौतहट, २५ असार । रौतहटको राजपुर नगरपालिकास्थित एक नहरमा बिहीबार बिहान एक युवतीको शव फेला परेको छ ।
घटनापछि प्रहरीले शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि पठाउँदै मृत्युको कारणबारे अनुसन्धान थालेको जनाएको छ ।
प्रहरीका अनुसार बिहान करिब ७ः२० बजे राजपुर नगरपालिका–३ अन्तर्गत राजपुर–फतुवा सडकखण्ड छेउको नहरमा महिलाको शव देखिएको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट अपराध अनुसन्धान टोली घटनास्थल पुगेको थियो ।
शवको पहिचान परोहा नगरपालिका–५ निवासी शेख मोबिनकी २४ वर्षीया श्रीमती मुस्कान खातुनका रूपमा भएको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार प्रारम्भिक निरीक्षणका क्रममा मृतकको शरीरमा कुनै बाहिरी चोटपटक देखिएको छैन । उनले मुस्कान यसअघि पनि घरबाट हराएकी थिइन् र त्यसबेला उनको खोजीका लागि प्रहरीमा निवेदनसमेत परेको जानकारी दिए ।
प्रहरीले घटनालाई शंकास्पद मृत्युका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि मात्र स्पष्ट हुने डीएसपी गौतमले बताए ।

