रौतहट, २५ असार । रौतहटको मौलापुर नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नखटाइएको विरोधमा स्थानीयले बिहीबार प्रदर्शन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुत्ला दहन गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकाको बजेट कार्यान्वयन, विकास निर्माण र भुक्तानी प्रक्रिया प्रभावित भएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा स्थानीयले ‘मौलापुरको बजेट फ्रिज गराउने सरकार मुर्दाबाद’, ‘मौलापुरमा हाकिम पठाऊँ’, ‘अदालतको आदेश कार्यान्वयन गर’ तथा ‘स्थानीय तहलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर’ जस्ता नाराबाजी गरेका थिए ।

स्थानीयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे जिम्मेवारी सम्हाल्न नगरपालिकामा उपस्थित नभएपछि मन्त्रालयले उनलाई फिर्ता बोलाएको थियो । त्यसयता नयाँ प्रमुख प्रशासकीय अधिकृत नखटाइएकाले नगरपालिकाको प्रशासनिक तथा वित्तीय गतिविधि प्रभावित हुँदै आएको उनीहरूको गुनासो छ ।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा विकास निर्माणका योजना कार्यान्वयन, विभिन्न शीर्षकको भुक्तानी तथा बजेट खर्च गर्ने प्रक्रिया अवरुद्ध भएको स्थानीयको भनाइ छ । उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलमाथि समेत मौलापुरलाई लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर स्थानीय तहको कामकाज प्रभावित पारेको आरोप लगाएका छन् ।

यसअघि पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर शिक्षकहरूले छ महिनादेखि तलब नपाएको भन्दै पेन डाउन आन्दोलन गरेका थिए । बहुक्षेत्रीय पोषण कार्यक्रमका लाभग्राही र सरसफाइ कर्मचारीले समेत लामो समयदेखि भुक्तानी नपाएको स्थानीयले बताएका छन् ।

यता, सर्वोच्च अदालतले मौलापुर नगरपालिकाले सञ्चालन गर्दै आएका निःशुल्क बिजुली, खानेपानीलगायतका कार्यक्रमको भुक्तानी नरोक्न अन्तरिम आदेश जारी गरेको भए पनि प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण उक्त आदेशसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको दाबी गरिएको छ ।

मौलापुर नगरपालिकाकी प्रमुख रीना साहले पनि प्रमुख प्रशासकीय अधिकृत नपठाएर संघीय सरकारले नगरपालिकाको नियमित प्रशासन र बजेट कार्यान्वयनमा अवरोध सिर्जना गरेको आरोप लगाएकी छन् ।

बजेट खर्च र विकास योजनाको कार्यान्वयनको महत्वपूर्ण समयमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त राखिनुले स्थानीय सरकारलाई अन्योल र गतिरोधतर्फ धकेलेको उनको भनाइ छ ।