जनकपुरधाम, २५ असार । स्थानीय तहको वित्तीय कारोबार सञ्चालनका लागि प्रयोग हुँदै आएको सुत्र प्रणाली लामो समयदेखि नियमित रूपमा सञ्चालन हुन नसक्दा धनुषाका अधिकांश स्थानीय तहको आर्थिक गतिविधि प्रभावित भएको छ ।

प्रणालीमा आएको अवरोधका कारण विकास निर्माणको भुक्तानी, कर्मचारीको तलब–भत्ता तथा अन्य अनिवार्य वित्तीय दायित्व समयमै सम्पन्न हुन सकेका छैनन् ।

स्थानीय तहका कर्मचारीका अनुसार प्रणाली अवरुद्ध भएपछि दैनिक वित्तीय कारोबार नै प्रभावित बनेको छ । निर्माण सम्पन्न भएका योजनाको भुक्तानी रोकिँदा निर्माण व्यवसायी समस्यामा परेका छन् भने सेवा प्रदायकहरूले पनि समयमै रकम नपाउँदा असन्तुष्टि जनाउन थालेका छन् ।

पालिकाका अधिकारीहरूका अनुसार भुक्तानी प्रक्रिया अवरुद्ध हुँदा विकास आयोजनाको कार्यान्वयनसमेत प्रभावित भएको छ । कतिपय योजनामा काम सम्पन्न भए पनि रकम निकासा हुन नसक्दा निर्माण व्यवसायीले कामको गति सुस्त बनाएको उनीहरूको भनाइ छ ।

यस्तै, कर्मचारीको तलब–भत्ता, विभिन्न सेवा तथा कार्यक्रमसँग सम्बन्धित नियमित भुक्तानीमा समेत ढिलाइ हुने अवस्था सिर्जना भएको छ । यसले स्थानीय सरकारको सेवा प्रवाहमा समेत प्रत्यक्ष असर परेको कर्मचारीहरूले बताएका छन् ।

सुत्र प्रणाली नियमित रूपमा सञ्चालन हुन नसक्दा सेवाग्राही, निर्माण व्यवसायी तथा अन्य सरोकारवालाबाट गुनासो बढ्दै गएको छ । वित्तीय कारोबार रोकिँदा स्थानीय तहका कर्मचारीहरू पनि अनावश्यक दबाबमा काम गर्न बाध्य भएको उनीहरूको भनाइ छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित जिल्लाका अधिकांश स्थानीय तहमा यही समस्या देखिएको जनाइएको छ । स्थानीय तहहरूले कानुनले तोकेको समयसीमाभित्र भुक्तानी सम्पन्न गर्न सकिने वातावरण सिर्जना गर्न महालेखा नियन्त्रकको कार्यालयसँग सुत्र प्रणाली यथाशीघ्र नियमित सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।

स्थानीय तहका प्रतिनिधि तथा कर्मचारीहरूले प्रणालीको समस्या तत्काल समाधान नभए विकास निर्माण, सेवा प्रवाह र वित्तीय व्यवस्थापनमा थप जटिलता उत्पन्न हुने चेतावनी दिएका छन् ।