जनकपुरधाम, २४ असार । जनकपुरधामस्थित धनुषा अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल परिसर बुधबार दिनभर तनावग्रस्त बनेको छ ।

उपचारमा चिकित्सकको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउँदै मृतकका आफन्तले अस्पताल प्रशासनविरुद्ध कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

घटनापछि अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने मृतकका आफन्त धर्नामा बसेका छन् ।

मृत्यु हुनेमा सिरहाको सिरहा नगरपालिका–२१ लग्डीगोठ निवासी २३ वर्षीया कल्याणी पासवान रहेकी छन् ।

गर्भमै मृत्यु भइसकेको आठ महिनाको शिशु निकाल्न सोमबार धनुषा अस्पतालमा भर्ना भएकी उनको बुधबार उपचारकै क्रममा मृत्यु भएको हो ।

मृतकका पति सतेन्द्र पासवानका अनुसार अस्पतालमा भर्ना गरेपछि चिकित्सकले औषधिको प्रयोगमार्फत मृत शिशु सामान्य प्रसूति प्रक्रियाबाट बाहिर निकालिने जानकारी दिएका थिए ।

उनले पटकपटक शल्यक्रिया गरेर शिशु निकाल्न आग्रह गरे पनि चिकित्सकले त्यसको आवश्यकता नरहेको भन्दै सामान्य प्रक्रियामै पर्खन आग्रह गरेको आरोप लगाए ।

उनका अनुसार बुधबार बिहान करिब १० बजेतिर मृत शिशु सामान्य प्रसूति प्रक्रियाबाट बाहिर निस्किएको थियो । त्यसलगत्तै अत्यधिक रक्तस्राव सुरु भएपछि चिकित्सकले रक्तश्राव रोक्ने प्रयाससँगै रगतसमेत चढाएका थिए ।

तर, स्वास्थ्य अवस्था सुधार हुनुको सट्टा झन् जटिल बन्दै गएपछि दिउँसो करिब २ बजे थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो । विराटनगर लैजाँदै गर्दा बाटोमै कल्याणीको मृत्यु भएको उनका पति सतेन्द्रले बताए ।

सतेन्द्रले उपचारमा ढिलाइ र गलत निर्णयका कारण आफ्नी श्रीमतीको अकालमै ज्यान गएको दाबी गरे ।

‘मैले धेरैपटक अप्रेसन गरेर बच्चा निकाल्न आग्रह गरेको थिएँ । तर, चिकित्सकले औषधिबाटै सामान्य रूपमा शिशु निस्किन्छ, कुनै समस्या हुँदैन भनेर आश्वस्त पार्नुभयो । अन्ततः यही निर्णयले श्रीमतीलाई गुमाउनुपर्‍यो,’उनले दुखेसो पोख्दै भने ।

मृतककी आफन्त विद्या पासवानले पनि अस्पतालले परिवारसँग पर्याप्त समन्वय नगरी हतारमा रेफर गरेर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाइन् ।

उनका अनुसार बिरामीको अवस्था गम्भीर हुँदा समेत परिवारलाई स्पष्ट जानकारी नदिई एम्बुलेन्समा राखेर विराटनगर पठाइएको थियो ।

‘हामीसँग राम्रोसँग सल्लाह नै गरिएन । बिरामी बेहोस अवस्थामा थिइन् । यस्तो अवस्थामा अस्पतालले आफ्नो कमजोरी लुकाउन हतारमा रेफर गरेको जस्तो देखियो,’उनले भनिन् ।

घटनापछि आक्रोशित आफन्तले अस्पतालमा विरोध प्रदर्शन गर्दै तोडफोडको प्रयास गरेका थिए । त्यसपछि सम्भावित अप्रिय घटना रोक्न ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ ।

अस्पताल परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने मृतकका आफन्तले दोषीमाथि कारबाही, निष्पक्ष छानबिन र उचित क्षतिपूर्तिको माग गर्दै धर्ना जारी राखेका छन् ।

यता, उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. स्वति जयसवालले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गरेकी छन् ।

उनका अनुसार मृत शिशु सामान्य प्रसूति प्रक्रियाबाट सफलतापूर्वक निकालिएको थियो । तर, त्यसपछि अत्यधिक रक्तस्राव हुन गई बिरामीको अवस्था जटिल बनेको थियो ।

‘यस्तो अवस्था कहिलेकाहीँ शल्यक्रियापछि मात्र नभई सामान्य प्रसूतिपछि पनि देखिन सक्छ । हामीले आवश्यक उपचार गर्‍यौं, रगत पनि चढायौं । अवस्था थप जटिल भएपछि परिवारसँग समन्वय गरेर सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको हो,’डा. जयसवालले बताइन् ।