बारा, २४ असार । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीचोकस्थित वीरगञ्ज–पथलैया सडकखण्डमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–४ निवासी ४० वर्षीय ईश्वर श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल बिहान करिब ५ः३० बजे अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएको थियो ।

दुर्घटनामा चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई तत्काल प्रादेशिक अस्पताल कलैयामा उपचारका लागि लगिएको भए पनि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि वीरगञ्जस्थित अस्पताल रिफर गरिएको थियो ।

उपचारकै क्रममा बुधबार दिउँसो करिब ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुरका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय गण्डकको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।