सिरहा, २४ असार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा एक महिलाको शव फेला परेको छ ।

लक्ष्मीपुर पतारी–३ महेशपुर निवासी ४० वर्षीया रञ्जुदेवी यादवको शव बुधबार बिहान गाउँपालिकाको वडा नम्बर ५ र ६ जोड्ने सरस्वती खोलाको उत्तरी किनारमा भेटिएको हो ।

स्थानीय अजय यादव भैँसी चराउन जाने क्रममा शव देखेपछि परिवारका सदस्य र प्रहरीलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीले आवश्यक मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान पठाएको जनाएको छ ।

मृतकका बुबा हरिदेव यादवका अनुसार रञ्जुदेवी केही समयदेखि मानसिक समस्याबाट पीडित थिइन् र उपचारका क्रममा माइतीघर लक्ष्मीपुर पतारी–५ पथलगडामै बस्दै आएकी थिइन् ।

मानसिक अवस्थाका कारण उनी कहिलेकाहीँ घरबाट निस्किने र कहाँ जाने भन्ने निश्चित नहुने गरेको उनले बताए ।

प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुल्न सकेको छैन ।

पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारण खुल्ने भएकाले यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।