सर्लाही, २४ असार । मधेश प्रदेश सरकारले होटल तथा खाजा घरमा खाद्य गुणस्तर र सरसफाइको अवस्था जाँच गर्न थालेको अनुगमन अभियानअन्तर्गत सर्लाहीका करिब एक दर्जन होटल तथा मिठाई पसल कारबाहीमा परेका छन् ।

गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको, भान्सा अस्वच्छ राखेको र उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गतिविधि गरेको पाइएपछि ती होटलहरूलाई जरिवाना गरिएको हो ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा स्थानीय प्रशासन, प्रहरी तथा प्राविधिक टोलीसहित मंगलबार सर्लाहीका विभिन्न क्षेत्रमा होटल तथा खाजा घरको अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले लालबन्दी, हरिवन, नयाँरोड, बागमती, बरहथवा लगायतका क्षेत्रमा रहेका होटल, खाजा घर तथा फास्टफुड पसलको निरीक्षण गरेको थियो ।

मन्त्री महतो स्वयं अनुगमनमा सहभागी हुँदै होटलका भान्सा, खाद्य सामग्री भण्डारण गर्ने स्थान र खाना पकाउने अवस्थाको निरीक्षण गरेका थिए ।

अनुगमनका क्रममा अधिकांश होटलमा सरसफाइको कमी, गुणस्तरहीन खाद्य सामग्रीको प्रयोग, पटकपटक प्रयोग गरिएको तेलबाट खाना पकाउने तथा मापदण्डविपरीत खाद्य वस्तु बिक्री गर्ने गरेको भेटिएको टोलीले जनाएको छ ।

स्वास्थ्यमा प्रतिकूल असर पार्ने गतिविधि गरेको पाइएपछि करिब एक दर्जन होटल तथा मिठाई पसललाई कारबाही गरिएको छ ।

कारबाहीस्वरूप ४ लाख ३७ हजार रुपैयाँ जरिवानासमेत असुल गरिएको सर्लाही प्रशासनले जनाएको छ ।

त्यस्तै, केही होटल तथा खाजा घरलाई सुधारका लागि चेतावनी दिइएको छ ।

अनुगमनका क्रममा प्रयोग गर्न नमिल्ने तेल, अखाद्य खाद्य सामग्री तथा बिग्रन थालेका तरकारी नष्ट गर्न लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

अनुगमनका क्रममा केही होटल सञ्चालकसँग सामान्य विवादसमेत भएको थियो । तर, उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले मापदण्ड पालना गराउन कुनै सम्झौता नगर्ने मन्त्री महतोले बताए ।

उनले होटल व्यवसाय व्यवस्थित, स्वच्छ र सुरक्षित बनाउन प्रदेशभर अनुगमनलाई निरन्तरता दिइने बताए । ‘नागरिकले पैसा तिरेर स्वस्थकर खाना पाउने अधिकार राख्छन् । उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने कार्य स्वीकार्य हुँदैन,’मन्त्री महतोले भने ।

प्रदेश सरकारको लक्ष्य मधेशका करिब ६४ लाख नागरिकलाई सुरक्षित र गुणस्तरीय खाद्य सेवा उपलब्ध गराउने रहेको भन्दै उनले होटल तथा खाद्य व्यवसायीलाई आवश्यक मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

धनुषाबाट सुरु गरिएको होटल अनुगमन अभियान अहिले सर्लाही पुगेको र आगामी दिनमा मधेश प्रदेशका अन्य जिल्लामा समेत विस्तार गरिने प्रदेश सरकारले जनाएको छ ।