फोटो र समाचारमै सीमित भयो कमला पुलको आश्वासन

जनकपुरधाम, २४ असार । धनुषा–सिरहा हुलाकी सडकअन्तर्गत कमला नदीमाथि निर्माणाधीन पुल १५ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासीले अझै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ ।
पटकपटक ठेकेदार परिवर्तन, म्याद थप, बाढीबाट भएको क्षति र बजेट अभावका कारण पुल निर्माण लामो समयदेखि अलपत्र परेको हो ।
पूर्वी मधेशलाई जनकपुरधामसँग सिधा जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको यो पुल निर्माण नहुँदा वर्षायाममा नदीमा पानी बढेपछि स्थानीय डुङ्गाको भर पर्न बाध्य छन् ।
पानी कम भएका बेला भने ढुङ्गा वा बाँसको अस्थायी संरचना प्रयोग गरेर नदी पार गर्नुपर्ने अवस्था रहेको छ ।
२०६८ साल जेठमा भएको ठेक्का सम्झौताअनुसार २०७१ साल मंसिरभित्र पुल निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण कम्पनीको लापरवाही र विभिन्न प्रशासनिक तथा प्राविधिक समस्याका कारण निर्धारित समयमा काम सम्पन्न हुन सकेन ।
स्थानीय देबु राउतका अनुसार पुल नबन्दा हरेक यात्रा जोखिमपूर्ण बनेको छ । उनले निर्माणमा ढिलाइ हुनुमा ठेकेदार नै मुख्य जिम्मेवार रहेको आरोप लगाए ।
लोहारपट्टी नगरपालिका निवासी सीताशरण ठाकुरले सिरहा जाने छोटो मार्ग भएकाले जोखिम हुँदाहुँदै पनि यही बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । वर्षौंदेखि पुल छिट्टै बन्ने आश्वासन सुन्दै आएको भए पनि अवस्था नफेरिएको उनको गुनासो छ ।
निर्माणको जिम्मा सुरुमा पप्पु कन्स्ट्रक्सनलाई दिइएको थियो । काम अलपत्र परेपछि २०७६ सालमा उक्त कम्पनीलाई हटाएर लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी दिइयो ।
तर, २०७८ सालमा आएको बाढीले पुलका दुई पिलरको जगमा क्षति पुर्याएपछि निर्माण फेरि प्रभावित भयो । त्यसपछि निर्माण कम्पनीबीचको विवाद र बजेट अभावले काम थप सुस्त बनाएको छ ।
पुल निर्माण सुरु भएयता चार वटा संघीय निर्वाचन सम्पन्न भइसकेका छन् । प्रत्येक निर्वाचनमा नेताहरूले कमला पुललाई प्रमुख चुनावी एजेन्डा बनाउँदै छिट्टै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि ती प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन नसकेको स्थानीयको आरोप छ ।
स्थानीय काशी साफीले चुनावका बेला पुल निर्माणको आश्वासन दिएर मत माग्ने नेताहरू निर्वाचनपछि फर्केर नहेर्ने गरेको बताए ।
अर्का स्थानीय रामसागर पण्डितले आफ्नो जीवनकालमै पुल सञ्चालनमा आउने वा नआउने अन्योल रहेको भन्दै सरकारको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरे ।
कमला पुल निर्माणलाई गति दिन गठन गरिएको संघर्ष समितिले संघीय र प्रदेश सरकारसँग पटकपटक पहल गर्दै आएको छ ।
समितिका संयोजक इन्जिनियर प्रवीण यादवका अनुसार प्रदेश सरकारले २०८१ मंसिरभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी बजेट सुनिश्चित गर्ने सहमति गरेको भए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
उनले प्रदेश सभाका सभामुखलाई ज्ञापनपत्र बुझाएर निर्माणका लागि तत्काल बजेट व्यवस्था गर्न माग गरिएको स्मरण गराउँदै आश्वासनबाहेक ठोस प्रगति नदेखिएको बताए ।
कमला पुल समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासी, यात्रु र व्यवसायीले दैनिक सास्ती खेपिरहेका छन् ।
निर्माणमा भएको ढिलाइले यातायात, व्यापार, सेवा प्रवाह र समग्र जनजीवनमा प्रत्यक्ष असर परेको छ । पटकपटक म्याद थपिए पनि पुल सञ्चालनमा आउन नसक्दा निर्माण व्यवस्थापन र सरकारी निगरानीमाथि प्रश्न उठेको छ ।
स्थानीयवासीले अब थप आश्वासनभन्दा पनि निर्माण कार्यलाई तीव्रता दिई कमला पुल यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् ।

