रौतहट, २४ असार । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा पुरानो जग्गा विवादले उग्र रूप लिँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक वृद्ध घाइते भएका छन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता वसन्त गौतमका अनुसार मंगलबार राति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबीच पुरानो जग्गा विवादलाई लिएर विवाद भएको थियो ।

विवाद चर्किएपछि हात हालाहालको अवस्था सिर्जना भएको र सोही क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए ।

ढाडमा गम्भीर चोट लागेका साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि उपचारकै क्रममा राति करिब ९ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाका क्रममा रामबहादुर साहको टाउकोमा समेत चोट लागेको प्रहरीले जनाएको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

घटनालगत्तै प्रहरीले चक्कु प्रहारका आरोपित राममहेश्वर साह र झडपमा संलग्न रहेका उनका बुवा रामऔतार साहलाई नियन्त्रणमा लिएको छ ।

घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गरिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार पुरानै जग्गा विवादका कारण घटना भएको देखिएको छ ।

प्रहरीले घटनाका सबै पक्षबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।