जनकपुरधामका गुठी जग्गा जोगाउन सरकारको पहल, ९ सदस्यीय समिति गठन

जनकपुरधाम, २४ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बृहत्तर जनकपुर क्षेत्रभित्र रहेका गुठी जग्गा, जानकी मन्दिर परिसर, पोखरी तथा ऐतिहासिक मठमन्दिरको संरक्षणका लागि ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ ।
मन्त्रालयले विगतमा विभिन्न अध्ययन, आयोग तथा कार्यदलले दिएका सुझावलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका गुठी सम्पत्तिको संरक्षण र व्यवस्थापनलाई व्यवस्थित बनाउन समिति गठन गरिएको जनाएको छ ।
गुठी संस्थान, प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति धनुषाका जिल्ला समन्वय अधिकारी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, भूमि प्रशासन कार्यालय धनुषाका प्रमुख, नापी कार्यालय धनुषाका प्रमुख तथा गुठी संस्थान शाखा कार्यालय धनुषाका प्रमुखलगायत सदस्य रहेका छन् ।
समितिलाई जानकी मन्दिर, विभिन्न मठमन्दिर, पोखरी, पोखरीका डिल तथा अन्य गुठी जग्गामा भएको अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
साथै, उच्चस्तरीय कार्यदल–२०६२, सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग–२०७६ लगायतका प्रतिवेदनमा उल्लेख भएका सुझाव कार्यान्वयन गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ ।
समितिले मन्दिर परिसर, पोखरी तथा पोखरीका डिलमा भएका अतिक्रमणको रेखाङ्कन गरी सम्बन्धित व्यक्तिलाई सात दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न सूचना जारी गर्नेछ ।
अन्य गुठी जग्गामा निर्माण गरिएका घर टहरा तथा बसोबास भएका क्षेत्रको पहिचान गरी १५ दिनभित्र अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिइनेछ ।
तोकिएको समयसीमाभित्र अतिक्रमण नहटाइए स्थानीय प्रशासन र सम्बन्धित स्थानीय तहको समन्वयमा थप १५ दिनभित्र अतिक्रमण हटाइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
अतिक्रमण हटाउने प्रक्रिया सम्पन्न भएपछि समितिले १५ दिनभित्र प्रगति प्रतिवेदन मन्त्रालयमा बुझाउनुपर्नेछ ।
मन्त्रालयका अनुसार समितिको गठनसँगै बृहत्तर जनकपुर क्षेत्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका गुठी सम्पत्तिको संरक्षण, व्यवस्थापन र अतिक्रमण नियन्त्रणको कामलाई थप प्रभावकारी बनाइने विश्वास गरिएको छ ।

