महाेत्तरी, २३ असार । धान रोपाइँको मुख्य समयमा रासायनिक मलको सहज उपलब्धता सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाका सबै स्थानीय तहलाई मलको मौज्दात, बिक्री–वितरण तथा मूल्यको अनुगमन गर्न निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सञ्जय कुमार पोखरेलले जारी गरेको पत्रमार्फत स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्र रहेका मल बिक्री केन्द्र र सहकारी संस्थाको स्थलगत अनुगमन गरी यथाशीघ्र प्रतिवेदन बुझाउन आग्रह गरिएको हो ।

प्रशासनले किसानलाई आवश्यक पर्ने यूरिया, डिएपी, पोटासलगायत रासायनिक मलको आपूर्ति सहज बनाउन, कृत्रिम अभाव सिर्जना हुन नदिन तथा कालोबजारी नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएको जनाएको छ ।

पत्रअनुसार स्थानीय तहले मल बिक्री केन्द्रको नाम र ठेगाना, यूरिया, डिएपी र पोटासलगायत मलको मौज्दात अवस्था, बिक्री भइरहेको मूल्य तथा नेपाल सरकारले तोकेको मूल्य पालना भए/नभएको, कृत्रिम अभाव वा कालोबजारी भएको/नभएको लगायतका विषय समेटेर प्रतिवेदन पेश गर्नुपर्नेछ । साथै देखिएका समस्या र समाधानका सुझावसमेत प्रतिवेदनमा समावेश गर्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जनकपुरधाम, ढल्केबर तथा कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामलाई पनि महोत्तरीका विक्रेतालाई बिक्री गरिएको मलको दैनिक विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

धान रोपाइँको समयमा मलको माग उच्च हुने भएकाले किसानले सहज रूपमा रासायनिक मल पाउने वातावरण बनाउन प्रशासनले अनुगमनलाई तीव्र बनाएको जनाएको छ ।

प्रशासनले सरकारी मूल्यभन्दा बढीमा बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा अनियमितता गर्ने जो–कोहीमाथि आवश्यक कानुनी कारबाही गरिने संकेतसमेत दिएको छ ।