जनकपुरधाम, २४ असार । धनुषाका विभिन्न सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी थप कडा बनाउँदै भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएका करिब ९ लाख ६८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण मुजेलियाबाट परिचालित गस्ती टोलीले नियमित सीमा गस्तीका क्रममा लत्ताकपडा, किराना सामग्री, मोटरसाइकल तथा अटो रिक्सासहितका सामान नियन्त्रणमा लिएको हो ।

ती सामान भारतबाट भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरीले जनाएको छ ।

नं. ८ गणका प्रमुख एसपी भीमबहादुर बिष्टका अनुसार बरामद गरिएका सामान तथा सवारी साधनको अनुमानित मूल्य ९ लाख ६८ हजार ३ सय रुपैयाँ रहेको छ ।

बरामद भएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि नियमित गस्ती, निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीको भनाइ छ ।