वन कार्यालय सिरहाका प्रमुख घुससहित अख्तियारको फन्दामा

सिरहा, २३ असार । सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले मंगलबार कर्जन्हा नगरपालिका–४ बाट उनलाई रंगेहात नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार कर्जन्हा नगरपालिका–२ स्थित एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने नाममा यादवले प्रतिट्रक चार हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए ।
घुस मागिएको भन्दै उद्योगीले अख्तियारमा उजुरी दिएपछि आयोगले योजनाबद्ध रूपमा स्ट्रिङ अपरेसन सञ्चालन गरेको थियो ।
सोही क्रममा घुस रकम बुझ्दै गरेका यादवलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका यादवमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

