जनकपुरधाम, २३ असार । श्रम तथा रोजगार कार्यालय जनकपुरधामले निजी व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था तथा अस्पतालहरूमा श्रमसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनको अवस्था बुझ्न अनुगमनलाई तीव्र बनाएको छ ।

कार्यालयले पछिल्लो समय जनकपुरधामभित्रका निजी अस्पतालहरूमा विशेष निगरानी थालेको छ । सोही क्रममा मंगलबार जनकपुरधाम–१ स्थित धनुषा अस्पतालमा अनुगमन गरिएको हो ।

श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख रञ्जित यादवका अनुसार अनुगमनका क्रममा कर्मचारीले न्यूनतम पारिश्रमिक पाए/नपाएको, रोजगार सम्झौता गरिएको अवस्था, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा श्रम ऐनको पालना भए/नभएको विषयमा व्यवस्थापन र कर्मचारीसँग छलफल गरिएको छ ।

उनले अनुगमनका क्रममा देखिएका कमजोरीबारे सम्बन्धित प्रतिष्ठानलाई आवश्यक सचेत गराउने, सुधारका लागि निर्देशन दिने तथा अटेर गरे कानुनी कारबाहीका लागि सिफारिस गर्ने प्रक्रिया अपनाइने बताए ।

कार्यालयले यसअघि जनकपुरधामस्थित काव्या अस्पतालमा पनि अनुगमन गरेको थियो ।

हालसम्मको अनुगमनबाट धेरै निजी प्रतिष्ठानमा कार्यरत कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नपाएको तथा सामाजिक सुरक्षा कोषबारे पर्याप्त जानकारी नरहेको अवस्था भेटिएको यादवको भनाइ छ ।

अनुगमनलाई निगरानीका रूपमा मात्र नभई श्रमिक र रोजगारदातामा श्रम अधिकार तथा कानुनी दायित्वबारे सचेतना फैलाउने अभियानका रूपमा समेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

श्रम तथा रोजगार कार्यालयले आगामी दिनमा अनुगमनलाई अझ प्रभावकारी बनाउँदै सदरमुकाममा मात्र सीमित नराखी धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरी जिल्लाका निजी प्रतिष्ठानहरूमा समेत निरन्तर सञ्चालन गर्ने जनाएको छ ।