जनकपुरधाम, २३ असार । रौतहटको गढीमाई नगरपालिकामा नदीजन्य पदार्थको ठेक्कासम्बन्धी राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, तत्कालीन लेखा प्रमुख तथा ठेकेदार कम्पनीका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गर्दै गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर, तत्कालीन लेखा प्रमुख कामेश्वर सहनी तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालि र कम्पनीका मुख्य व्यक्ति राधेश्याम साहविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा गढीमाई नगरपालिकाले लक्ष्मीपुरदेखि धर्मपुरघाटसम्मको बालुवा, गिट्टी र ग्राभेल उत्खनन, संकलन, बिक्री तथा निकासी कार्यका लागि आन्तरिक आय ठेक्का आह्वान गरेको थियो । उक्त ठेक्का भाग्यमणी कन्स्ट्रक्सन कम्पनीले १ करोड ५ लाख रुपैयाँ मा सकार गरेको थियो ।

तर, सम्झौताअनुसार सम्पूर्ण रकम बुझाउनुपर्ने भए पनि कम्पनीले धरौटी मिलानसहित ४० लाख ५० हजार रुपैयाँ मात्रै जम्मा गरेको र ६४ लाख ५० हजार रुपैयाँ अझै बाँकी रहेकै अवस्थामा नगरपालिकाका जिम्मेवार अधिकारीहरूले सम्पूर्ण रकम बुझाइसकेको भनी गलत प्रतिवेदन तयार गरी ठेक्का सम्झौता गराएको अख्तियारको आरोप छ ।

अनुसन्धानका क्रममा ठेकेदारलाई कबोल रकमको १० प्रतिशत छुटसमेत गैरकानुनी रूपमा उपलब्ध गराइएको, साथै मूल्य अभिवृद्धि करबापत बुझाउनुपर्ने १३ लाख ६५ हजार रुपैयाँ समेत दाखिला नभएको पाइएको आयोगले जनाएको छ ।

अख्तियारका अनुसार ठेक्काको अवधिमा २२ हजार ४३५ घनमिटर नदीजन्य पदार्थ उत्खनन तथा निकासी गरिएको थियो । त्यसबाट ठेकेदार कम्पनीले १ करोड १० लाख ९१ हजार ३०३ रुपैयाँ १२ पैसा बराबरको आर्थिक लाभ लिएको देखिएको छ ।

आयोगले ठेक्का सम्झौताका शर्त, सार्वजनिक खरिद प्रक्रिया तथा प्रचलित कानुनविपरीत बदनियतपूर्वक कार्य गरी नेपाल सरकार तथा गढीमाई नगरपालिकालाई ७८ लाख १५ हजार रुपैयाँ बराबरको राजस्व नोक्सानी पुर्‍याइएको निष्कर्ष निकालेको छ ।

अनुसन्धानबाट रकम दाखिला नै नभएको अवस्थामा दाखिला भएको भनी गलत टिप्पणी र प्रतिवेदन तयार गरी ठेक्का स्वीकृत गरिएका कारण राज्यको राजस्व चुहावट भएको आयोगको दाबी छ ।

आरोपपत्रमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर र तत्कालीन लेखा प्रमुख सहनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत भ्रष्टाचारजन्य कसुर गरेको अभियोग लगाइएको छ ।

उनीहरूबाट ७८ लाख १५ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको बिगो असुल, कानुनबमोजिम कैद तथा बिगोको दोब्बर जरिवानाको माग गरिएको छ ।

त्यस्तै, ठेकेदार कम्पनी भाग्यमणी कन्स्ट्रक्सन प्रालि तथा कम्पनीका मुख्य व्यक्ति राधेश्याम साहमाथि गैरकानुनी लाभ लिएको र मुख्य कसुरमा मतियार बनेको अभियोग लगाउँदै मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।

अख्तियारले सार्वजनिक स्रोत र प्राकृतिक सम्पदाको ठेक्का प्रक्रियामा अनियमितता गर्ने तथा राजस्व हिनामिना गर्ने कार्यमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइने जनाएको छ ।