जनकपुरधाम, २३ असार । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा मंगलबार जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन तथा र्‍याली निकालिएको छ ।

विभिन्न स्थानबाट सहभागी भएका समर्थकहरूले नगरका मुख्य सडक परिक्रमा गर्दै वर्तमान सरकारको कार्यशैली, सुशासन र प्रशासनिक अवस्थाप्रति असन्तुष्टि जनाएका हुन् ।

जानकी मन्दिर परिसरबाट सुरु भएको र्‍याली जनकचोक, शिवचोक, भानुचोक हुँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, जनउत्तरदायी शासन र प्रशासनिक सुधारको माग गरेका थिए ।

सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरीले र्‍यालीको मार्गमा आवश्यक सुरक्षा प्रबन्ध मिलाएको थियो ।

र्‍यालीलाई सम्बोधन गर्दै दुर्गा प्रसाईंले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए ।

उनले सिंहदरबारको प्रशासनिक प्रणाली राजनीतिक नेतृत्वकै कारण कमजोर बन्दै गएको दाबी गर्दै सरकारका गतिविधिमाथि नागरिकस्तरबाट खबरदारी आवश्यक भएको बताए ।

उनले सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै आफ्नो अभियानले विस्तृत मूल्याङ्कन सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिए ।

सरकारका उपलब्धि र कमजोरी दुवै पक्षलाई समेटेर प्रतिवेदन सार्वजनिक गरिने उनको भनाइ थियो ।

प्रसाईंले मुलुकको प्रशासनिक अवस्था, आर्थिक चुनौती, सुशासन तथा विदेश नीतिका विषयमा समेत सरकारमाथि प्रश्न उठाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने धारणा व्यक्त गरे ।

उनका अनुसार जनताको विश्वास गुमाउँदै गएको शासन प्रणालीलाई सुधार गर्न व्यापक राजनीतिक उत्तरदायित्व आवश्यक छ ।

र्‍यालीअघि प्रसाईंले जानकी मन्दिरमा पूजा–अर्चना गरेका थिए । साँझ जानकी मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको अभियानका आयोजकहरूले जनाएका छन् ।