जनकपुरधाम, २३ असार । जनकपुरधाम उपमहानगरपालिकाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि मातृभाषा मैथिलीमा तयार गरिएको ‘अपन जनकपुरधाम’ स्थानीय पाठ्यक्रम लागू गरेपछि त्यसको चौतर्फी स्वागत हुन थालेको छ ।

भाषा, साहित्य तथा शिक्षा क्षेत्रमा सक्रिय संस्थाहरूले यसलाई स्थानीय भाषा, संस्कृति र पहिचान संरक्षणतर्फको ऐतिहासिक तथा दूरदर्शी निर्णयको रूपमा व्याख्या गरेका छन् ।

विगत लामो समयदेखि मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय मिथिला नाट्यकला परिषद् (मिनाप) ले एक विज्ञप्ति जारी गर्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, पाठ्यक्रम निर्माणमा संलग्न विज्ञ, लेखक, अनुवादक तथा सम्पूर्ण नगर परिवारलाई धन्यवाद तथा बधाई ज्ञापन गरेको छ ।

परिषद्का महासचिव विष्णुकान्त मित्रद्वारा जारी विज्ञप्तिमा २०३६ सालदेखि निरन्तर मैथिली भाषा, साहित्य र संस्कृतिको विकासका लागि आवाज उठाउँदै आएको संस्थाले अब विद्यालय तहबाटै मातृभाषामा सहज, सरल र प्रभावकारी शिक्षणको वातावरण तयार भएको उल्लेख गरिएको छ ।

यस्ता रचनात्मक कार्य आगामी दिनमा पनि निरन्तर अघि बढ्ने विश्वास परिषद्ले व्यक्त गरेको छ ।

यस्तै, निजी विद्यालयहरूको छाता संगठन हिसान नेपाल तथा एन प्याब्सन आबद्ध संस्थागत विद्यालय तथा क्याम्पसहरूले पनि संयुक्त रूपमा आभार व्यक्त गरेका छन् ।

उनीहरूले जनकपुरधामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भौगोलिक तथा सामाजिक पहिचान समेटिएको स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णयलाई आगामी पुस्तालाई आफ्नै माटो, सभ्यता र संस्कृतिसँग जोड्ने महत्वपूर्ण पहलका रूपमा लिएका छन् ।

संस्थाहरूका अनुसार आफ्नै मातृभाषामा तयार गरिएका पाठ्यपुस्तकबाट अध्ययन गर्दा बालबालिकाले विषयवस्तु सहज रूपमा बुझ्न सक्ने, स्थानीय ज्ञानसँग घुलमिल हुन सक्ने तथा भाषा संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

स्थानीय इतिहास, मिथिला सभ्यता, चाडपर्व, मेला, जात्रा, परम्परा र सांस्कृतिक सम्पदाबारे विद्यालय तहदेखि नै अध्ययन हुने भएकाले यसले जनकपुरधामको मौलिक पहिचानलाई दीर्घकालसम्म जोगाइ राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

दुवै संस्थाले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा, पाठ्यक्रम निर्माण टोली तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।