सिरहामा १४ लाखभन्दा बढीका तस्करीका सामान बरामद

-श्यामकुमार ठाकुर
सिरहा, २३ असार । सिरहाको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा पारिएपछि भन्सार छली गरी ओसारपसार हुँदै गरेका १४ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न तस्करीका सामान सुरक्षा निकायले बरामद गरेको छ ।
नं. ७ गण मुख्यालय सिरहाका अनुसार २०८३ असार २२ गते जिल्लाका विभिन्न सीमा नाकामा सञ्चालन गरिएको विशेष सुरक्षा तथा चेकजाँच अभियानका क्रममा भारतबाट नेपालतर्फ भित्र्याइँदै तथा नेपालबाट भारततर्फ लैजाँदै गरिएका अन्दाजी रु. १४ लाख ३ हजार ३२६ बराबरका सामान नियन्त्रणमा लिइएको हो ।
सुरक्षा स्रोतका अनुसार बरामद गरिएका सामानमा मोटरसाइकल, कस्मेटिक सामग्री, पित्तलका भाँडा, मदिरा, विद्युतीय उपकरण, किराना सामग्री तथा डिजेल रहेका छन् ।
ती सामान अवैध रूपमा भन्सार छली गरी ओसारपसार गर्ने प्रयास भइरहेको अवस्थामा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जनाइएको छ ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सुरक्षा निकायले जनाएको छ ।
घटनामा संलग्न व्यक्ति तथा तस्करीको सञ्जालबारे थप अनुसन्धानसमेत भइरहेको बताइएको छ ।
नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध चोरी–पैठारी, राजस्व छलि तथा तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको नं. ७ गणले जनाएको छ ।
सुरक्षा निकायका अनुसार आगामी दिनमा पनि सीमा नाकाहरूमा नियमित गस्ती, सघन चेकजाँच र विशेष निगरानी अभियानलाई निरन्तरता दिइनेछ ।
पछिल्ला महिनाहरूमा सीमा क्षेत्रमा सुरक्षा सक्रियता बढेसँगै अवैध रूपमा भित्र्याइने सामान बरामद हुने क्रम पनि बढ्दै गएको छ ।





