जनकपुरधामका प्रमुख साह नेपाल नगरपालिका संघको मधेश प्रदेश संयोजक मनोनित

जनकपुरधाम, २२ असार । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह नेपाल नगरपालिका संघको मधेश प्रदेश समितिको संयोजकमा मनोनित भएका छन् ।
संघको कार्यसमिति बैठकको निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
नेपाल नगरपालिका संघले सोमबार जारी गरेको पत्रमार्फत असार १५ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार प्रमुख साहलाई मधेश प्रदेश समितिको संयोजक तथा संघको केन्द्रीय कार्यसमितिको पदेन सदस्यका रूपमा मनोनयन गरिएको जानकारी दिएको हो ।
संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाद्वारा हस्ताक्षरित पत्रमा प्रमुख साहलाई नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
मनोनयनसँगै प्रमुख साहले मधेश प्रदेशका नगरपालिका तथा उपमहानगरपालिकाबीच समन्वय, स्थानीय सरकारका साझा मुद्दा उठान, नीति निर्माणमा सहकार्य तथा संघीय, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने जिम्मेवारी निर्वाह गर्ने विश्वास गरिएको छ ।
स्थानीय तहको क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार तथा नगरपालिकाहरूका साझा हितका विषयमा नेपाल नगरपालिका संघले विभिन्न तहका सरकारसँग समन्वय गर्दै आएको छ ।
प्रमुख साहको नेतृत्वमा मधेश प्रदेशका स्थानीय तहका समस्या, आवश्यकता र विकासका प्राथमिकताहरूलाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठान गर्न सहयोग पुग्ने विश्वास संघले व्यक्त गरेको छ ।


